नेपाल हङकङसँग ७३ रनले पराजित

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। 

काठमाडौँ– नेपाल मैत्रीपूर्ण टी२० आईको पहिलो खेलमा हङकङसँग ७३ रनले पराजित भएको छ। 

हङकङले दिएको २१३ रनको लक्ष्य पछ्याएको नेपालले १६.४ ओभरमा सबै विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए। आरिफ शेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए।

हङकङका लागि एजाज खानले ४ विकेट लिँदा इसान खानले ३ विकेट लिए। नसरुल्ला राणा र अतीक इकबालको नाममा १/१ विकेट रह्यो।

घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

हङकङका बाबर हायातले ११० रनको शतकीय इनिङ्स खेले। उनले ४९ बलमा ३ चौका र १३ छक्का प्रहार गरे। मार्टिन कोट्जीले २१ बलमा ५ चौका र १ छक्कासहित ३१ रन जोडे। अंशुमान रथले ३२ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए।

नेपालका लागि डेब्यू गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले १/१ विकेट लिए।