गोलबजारमा होटल सञ्चालकको हत्या, ४ जना पक्राउ

सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी महिलाको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गोलबजार– सिरहाको गोलबजारमा होटल सञ्चालन गर्दै आएकी एक महिलाको हत्या भएको छ। उनको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको हो।

गोलबजार नगरपालिका–६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

इलाका प्रहरी कार्यालय गोलबजारका अनुसार गर्दन काटिएको तथा टाउको क्षतविक्षत भएको अवस्थामा साहको शव फेला परेको हो। साहले स्थानीय सिकन्द्र पूर्वेको घर भाडामा लिएर विगत एक वर्षदेखि होटल सञ्चालन गर्दै आएकी थिइन्।

गएराति अनिता र महेन्द्रमाथि कुटपिट भएको खबर प्राप्त भएपछि प्रहरीको टोलीले सहयोगका लागि घटनास्थलमा पुगेको थियो। घटनास्थलमा अनिता मृत र ३५ वर्षीय महेन्द्र गम्भीर घाउचोटसहित बेहोस अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि गोलबजार पुर्‍याइएको थियो।

घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए। प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन।

घटना भएको घर नजिकको गोठबाट एक थान खुकुरी बरामद भएको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

पुलमुनि शव फेला
कुनौली–राजविराज सडकखण्डमा पर्ने सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित पुलमुनि शनिबार बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको छ। राजविराज नगरपालिका–१६ बस्ने राजेशकुमार यादवलाई पुलमुनि मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

पुलमुनि मधेश प्रदेश ३०६१ नंको मोटरसाइकलसहित उनको शव भेटिएकाले दुर्घनामा परेर ज्यान गएको हुन सकिने प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए। उनका अनुसार कुन कारणले कसरी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुलेको छैन तर घटनाका बारेमा प्रहरीले अनुसन्धान थालिएको छ। 

पुलमुनि शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकको पहिचान भएपछि परीक्षणका लागि शव राजविरजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।