सुनको मूल्यमा दिनहुँ रेकर्ड, आइतबार तोलामा १ हजार बढ्यो

शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

काठमाडौँ– सुनले दैनिक उच्च मूल्यको रेकर्ड बनाइरहेको छ। पछिल्लो ६ दिनमा सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन २१ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख २१ हजार रुपैयाँ थियो। त्यसपछि निरन्तर बढिरहेको छ। 

शुक्रबार प्रतितोला एक लाख २५ हजार रुपैयाँ रहेको छापावाल सुन आइतबार एक लाख २६ हजार रुपैयाँ तोकिएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलाको एक हजार ४७५ रुपैयाँ रहेको छ। शुक्रबारभन्दा पाँच रुपैयाँले बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दै जाँदा मूल्यमा असर परेको महासंघले जनाएको छ।