पुरातात्त्विक महत्त्वका काठ जलाएर खाना पकाउँदै लघुवित्त ऋणी (तस्वीरहरू)

काठमाडौँको टेकु दोभानदेखि थापाथलीसम्मका क्षेत्रमा पुनर्निर्माणका क्रममा निकालिएका मन्दिर तथा सत्तलका पुरातात्त्विक महत्त्वका काठ जलाइएको छ।

काठमाडौँ– काठमाडौँको टेकु दोभानदेखि थापाथलीसम्म रहेका पुरातात्त्विक महत्त्वका काठ जलाइएको छ। काठमाडौँ महानगरपालिका– ११ र १२ मा निर्माणाधीन २८ वटा सत्तल, मन्दिर आदिका पुरातात्त्विक काठहरू लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलनमा उत्रिएका ऋणीहरूले जलाइका हुन्। फागुन ५ गते ऋणीहरू काठमाडौँमा आएर लघुवित्त वित्तीय संस्थाविरुद्ध आन्दोलन थालेका थिए। शुरूमा उनीहरूलाई तीनकुने राखिने भनिए पनि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले गौशालास्थित सिफलमा राखेको थियो। शिवरात्रिमा सिफलबाट थापाथलीस्थित कालमोचन घाटमा सारिएको थियो। गुठी संस्थानअन्तर्गत पर्ने उक्त क्षेत्र भूकम्पले भत्काएपछि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमार्फत एशियाली विकास बैंकको ऋणबाट निर्माणाधीन छ। उक्त स्थानका २८ मन्दिर, सत्तल तथा घाटको पुनर्निर्माणका लागि निकालिएका महत्त्वपूर्ण काठहरू थुपारिएको थियो। तिनै काट चलाएर लघुवित्त ऋणीहरूले खाना पकाउने गरेका हुन्। उनीहरूले यस्ता काठहरू पाल अड्याउने लगायतका काममा समेत प्रयोग गर्ने गरेका छन्। तस्वीर : नेपाल फोटो लाइब्रेरी