चालु खाता १६१ अर्बले बचतमा, विदेशी मुद्रा सञ्चिति १८४४ अर्ब पुग्यो

राष्ट्र बैंकका अनुसार माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु खाता १६१ अर्बले बचतमा रहेको जनाएको छ। केन्द्रीय बैठकले आइतबार जारी गरेको चालु आर्थिक वर्ष २०८०/८१ को सात महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु खाता १६१ अर्ब ६९ करोडले बचतमा रहेको जनाइएको हो।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो। राष्ट्र बैंकका अनुसार पुँजीगत ट्रान्सफर २९.० प्रतिशतले कमी आएको आई ३ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ।

खुद प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोड रुपैयाँले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड रुपैयाँ कायम भएको थियो। खुद प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४ करोडले धनात्मक रहेको थियो।

त्यस्तै, शोधनान्तर स्थिति २९७ अर्ब ७२ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२८ अर्ब ५५ करोडले बचतमा रहेको थियो। 

राष्ट्र बैंकका अनुसार सात महिनाको अवधिमा वस्तु निर्यातमा ७.१ प्रतिशतले गिरावट आएको छ। वस्तु निर्यात ७.१ प्रतिशतले कमी आई ८६ अर्ब ८३ करोड कायम भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९ प्रतिशतले कम आएको थियो। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ११.३ प्रतिशत र २ प्रतिशतले कमी आएको छ भने चीन तर्फको निर्यातमा ३३८.८ प्रतिशतले वृद्ध भएको केन्द्रीय बैंकले जनाएको छ।

वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, अदुवा लगायतका वस्तुको निर्यात बढेको छ। पाम तेल, सोयाबिन तेल, अलैँची, चिया, ऊन, गलैँचा लगायतका वस्तुको निर्यात घटेको छ।

त्यस्तै, वस्तु आयत २.३ प्रतिशतले कम आई ८९७ अर्ब ९४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ। चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोसाक, सवारी साधन तथा स्पेयर पार्टपुर्जा, हवाईजहाजका स्पेयर पार्टपुर्जा, विद्युतीय उपकरण, एमएस तार, छड, बार तथा क्वाइल लगायतका बस्तुको आयात बढेको हो। कच्चा सोयाबिन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तु आयात घटेको राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले कमी आई ८११ अर्ब ११ करोड रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १८.७ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.२ प्रतिशत रहेको थियो। समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ८८ अर्ब १८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ७८ करोड रुपैयाँ बराबरको भएको थियो।

विदेशी मुद्रा सञ्चिति
असार मसान्तमा १५३९ अर्ब ३६ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.९ प्रतिशतले वृद्धि भई माघ मसान्तमा १८४४ अर्ब ९४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा माघ मसान्तमा १८.६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १३४५ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा माघ मसान्तमा २०.७ प्रतिशतले वृद्धि भई १६२३ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १९३ अर्ब ५९ करोड रहेकोमा माघ मसान्तमा १४.२ प्रतिशतले वृद्धि भई २२१ अर्ब २ करोड रुपैयाँ कायम भएको छ। माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ।

उपभोक्ता मुद्रास्फीति
प्रतिवेदनमा उल्लेख भएअनुसार माघमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.८८ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.८५ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२.११ प्रतिशत, दाल तथा गेडागुडीको ११.१५ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.०६ प्रतिशत र तरकारीको ७.५८ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.३३ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा गैरखाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.१५ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.४१ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ।

माघमा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.९६ प्रतिशत, तराईको ४.७१ प्रतिशत, पहाडको ५.५८ प्रतिशत र हिमालको ५.४४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ८.४७ प्रतिशत, ७.८२ प्रतिशत, ७.३० प्रतिशत र ७.९२ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८३९ अर्ब पुगेको राष्ट्र बैंकको तथ्याक छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ४७ हजार ०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ५८ हजार ५४० रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः तीन लाख १४ हजार ७६७ र एक लाख ६७ हजार ७०८ रहेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई ९१० अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो।