सभाहल र शौचालय निर्माणमा अनियमितता, १२ जनाविरुद्ध मुद्दा

अख्तियारले सभाहल तथा शौचालय निर्माणका क्रममा अनियमितता गरेको आरोपमा दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ।

काठमाडौँ– सभाहल तथा शौचालय निर्माण गराउँदा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोशी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको छ। १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै आयोगले आइतबार उनीहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो।

मुद्दामा प्रतिवादी बनाइएकाहरूमा तामाकोशी गाउँपालिकाका तत्कालीन उपाध्यक्ष उर्मिला खड्का, लेखा अधिकृत विजय लुइँटेल रहेका छन्। त्यस्तै, इन्जिनियर सुबोधकुमार चापागाईं, लेखापाल रामबहादुर कार्की, सबइन्जिनियर सिर्जना दुवाल, उपभोक्ता समितिका अध्यक्ष इराजन पोखरेल, सचिव नम्रता महत, कोषाध्यक्ष माण्डवी पोखरेल, तामाकोशी–१ का तत्कालीन वडाध्यक्ष महेश्वर काफ्ले, वडा ४ का तत्कालीन वडाध्यक्ष होमबहादुर श्रेष्ठ र वडा ३ का तत्कालीन तथा हालका वडाध्यक्ष रामप्रसाद काफ्लेलाई पनि प्रतिवादी बनाइएको छ।

तामाकोशी–३ जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नभए पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो। उनीहरूले मनासिब कारणबिना आकार परिवर्तन, निर्धारित शर्त तथा मापदण्ड विपरीत निर्माण कार्य गरी सरकारलाई १२ लाख ८९ हजार ३२० हानि पुर्‍याएको अनुसन्धानका क्रममा पुष्टि भएको अख्तियारले जनाएको छ।