दोहोरो अंक बढेको शेयर बजारमा २ अर्ब ९२ करोडको कारोबार

विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि देखिएको छ। नेप्से परिसूचक २२.१० अंकले बढेर २०५२.६५ को विन्दुमा कायम भएको हो।

३०४ कम्पनीका ७० लाख ४३ हजार ४५७ कित्ता शेयर ५६ हजार ७२६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ बराबरको कारोबार भएको छ।

जलविद्युत् समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने अरू सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.२१ र जीवन बीमा समूहको उपसूचक १.८४ प्रतिशतले बढेको छ। 

बैकिंग समूह ०.७४, विकास बैंक १.०८, वित्त समूह १.४०, होटल तथा पर्यटन १.१२ र लगानी समूह १.२६ प्रतिशतले बढेको छ। त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह ०.९१, म्युचुअल फन्ड १.०१, निर्जीवन बीमा १.३४, व्यापार ०.६५ र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ।

विन नेपाल लघुवित्त वित्तीय संस्था र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा आइतबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २२ करोड ९३ लाख २५ हजार ६४३ बराबरको चार लाख ३० हजार १३१ कित्ता शेयर किनबेच भएको छ।