शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै

फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। 

तस्वीर: फेसबुक ग्रुप-वी आर शेर्पा

काठमाडौँ– शेर्पा समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज सोमबार देश-विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्। यो शेर्पा समुदायको नयाँ वर्ष हो।

मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गर्दछन्।

ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुंग्याललका पालादेखि वसन्त पर्वका नामले मनाउन थालिएको हो। विगतमा हिमाली जिल्लामा मात्रै मनाइने यो पर्व अहिले देशैभरि फैलिएको छ। शेर्पा समुदायको उपस्थिति भएका सबैजसो जिल्लामा धुमधामका साथ यो पर्व मनाउने गरिएको छ।