भागेका थुनुवालाई पछ्याएका प्रहरी जवानको मृत्यु

दार्चुलामा प्रहरीको नियन्त्रणबाट भागेका थुनुवा पछ्याउने क्रममा एक प्रहरी जवानको मृत्यु भएको छ।

काठमाडौँ– दार्चुलामा प्रहरीको नियन्त्रणबाट भागेका थुनुवा पक्राउ गर्ने क्रममा एक प्रहरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट भागेका थुनुवालाई पछ्याउने क्रममा सोमबार अपराह्न प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान चौधरीको थुनुवा पछ्याउने क्रममा भीरबाट लडेर मृत्यु भएको हो। 

प्रहरी हिरातमा रहेका थुनुवा महाकाली नगरपालिका–१ का उमेश कुँवर हतकडीसहित भागेका थिए। उनलाई पछ्याउने क्रममा प्रहरी जवान चौधरीको लडेर गम्भीर घाइते भएका थिए। उनको टाउकोमा चोट लागेको थियो।

उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ। 

हतकडीसहित भागेका कुँवरलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ। महाकाली नदीपारि पुगेका कुँवरलाई भारतीय सुरक्षाकर्मीको समन्वयमा नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।