रास्वपाले इलाम २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

पार्टीलाई सरकार, संसद् र संगठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए।

काठमाडौँ– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ।

सोमबार पार्टी मुख्यालय, बालाजुमा बसेको पार्टी केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ गतेका लागि तय इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो।रास्वपाले उपनिर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ।

“हामीले इलामको उपनिर्वाचनमा भाग लिने, दल दर्ता गर्ने निर्णय गर्‍यौँ भने प्रदेशसभाको निर्वाचन जुन बझाङको थियो त्यसमा हामीले भाग नलिने निर्णय गरेका छौँ,” बैठकपछि पार्टी महामन्त्री डा. मुकुल ढकालले भने।

बैठकले सरकारको कामबारे समीक्षा गर्न हरेक हप्ता पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले र महामन्त्री ढकालले पार्टीका मन्त्रीहरूसँग छलफल गरेर सरकारको कामको समीक्षा गर्ने निर्णय गरेको छ। पार्टीलाई सरकार, संसद् र संगठनमा बलियो बनाउन सहयोगी टिमहरू गठन गरेर अघि बढ्ने निर्णय पनि गरिएको महामन्त्री ढकालले बताए।

“सरकारको कार्यसम्पादनको आवधिक समीक्षा गर्ने र पार्टीका विविध मोर्चा सरकार, संसद्, संगठनमा सल्लाहको आधारमा सहयोगी टिमहरू गठन गर्दै पार्टीलाई हरेक मोर्चामा सफल बनाउन हर सम्भव कार्य गर्ने निर्णय गरियो,” उनले भने।