राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

राप्रपाले आगामी चैत्र १६ गते गर्ने भनेको काठमाडौँकेन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने भएको छ। राप्रपाको केन्द्रीय कार्य सम्पादन समितिको सोमबार काठमाडौँमा सम्पन्न बैठकले सत्तारुढ गठबन्धनमा सहभागी नहुने र प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने औपचारिक निर्णय गरेको हो।

“पार्टीले अहिले आधिकारिक रूपमा पनि निर्णय गरेको छ–राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने। विश्वासको मत दिने क्रममा विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरेको छ,” राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भने।

प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने र समर्थन गर्नुपर्ने कुनै अवस्था आएमा सम्बन्धित प्रदेशको परामर्शमा अध्यक्षका रूपमा आफूलाई आवश्यक निर्णय गर्ने जिम्मेवारी पनि बैठकले दिएको उनले बताए। 

राप्रपाले इलाम क्षेत्र नम्बर २ मा हुने प्रतिनिधिसभाको उपनिर्वाचन र बझाङ प्रदेशसभा १ मा हुने उपनिर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको छ।

दुई वटै स्थानमा हुने उपनिर्वाचनको उम्मेदवार छनौटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको अध्यक्ष लिङ्देनले बताए। राप्रपाले आगामी चैत्र १६ गते गर्ने भनिएको काठमाडौँकेन्द्रित जनप्रदर्शन एसईई परीक्षाको कारण देखाउँदै चैत्र २७ गतेलाई सारेको छ।