चीन, रुस र इरानले संयुक्त सैन्य अभ्यास गर्ने

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने भएका छन्।

तस्वीर : एपी

चीन, रुस र इरानका नौसेनाले यसै साता ओमानको खाडीमा संयुक्त अभ्यास गर्ने बेइजिङले सोमबार बताएको छ।

चीनको रक्षा मन्त्रालयद्वारा सामाजिक सञ्जाल विच्याटमार्फत सार्वजनिक विज्ञप्तिअनुसार सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने सैन्य गतिविधिको उद्देश्य ‘क्षेत्रीय सामुद्रिक सुरक्षालाई संयुक्त रूपमा कायम राख्ने’ रहेको छ। 

विज्ञप्तिमा धेरै विवरण नखुलाई भनिएको छ, “चीनले अभ्यासमा सहभागिता जनाउनका लागि निर्देशित–मिसाइल विनाशक उरुम्की, निर्देशित–मिसाइल फ्रिगेट लिनी र व्यापक आपूर्ति जहाज डोङपिङ्हु पठाउने छ।”

यस क्षेत्रमा गत वर्ष मार्चमा यी तीनै मुलुकबीच ‘सेक्युरिटी बन्ड २०२३’ नामक अभ्यास भएको थियो। गाजामा युद्ध चर्किएको र इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागरमा जहाजहरूमाथि आक्रमण शुरू गरेका बेला त्रिदेशीय सैन्य अभ्यास हुने लागेको हो। यस वर्षको संयुक्त अभ्यासको चरण यस क्षेत्रमा बढ्दो तनावसँग पनि मेल खाएको एपीले उल्लेख गरेको छ।

मुलुकको प्रशान्त फ्लिटबाट भर्याग क्रुजरको नेतृत्वमा जहाजहरूको एउटा टुकडी इरानी बन्दरगाह चाह बहार आइपुगेको रुसी सरकारी मिडियाले बताएको छ। 

“अभ्यासको व्यावहारिक सहभागिता अरब सागरमा ओमानको खाडीको पानीमा हुनेछ,” रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले भनेका छन्, “युद्धाभ्यासको प्रमुख उद्देश्य भनेको सामुद्रिक आर्थिक गतिविधिको सुरक्षामा काम गर्नु हो।”