कफीखेतीमा इलामका किसान: भन्छन्– बजार र मूल्यको समस्या छैन

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्।

फिक्कल– इलामको माङसेबुङ गाउँपालिका–१ जगरमुखीका याम कार्की ‘कृषि कर्म गरेर पनि मनग्य कमाउन सकिन्छ’ भन्ने प्रेरणाका स्रोत बनेका छन्। उनले ६० रोपनी क्षेत्रमा कफीको बिरुवा लगाएका छन्। बगानमा अहिले ६ हजार कफीका बोट छन्। कफीका अधिकांश बोटले आम्दानी दिन थालेको छ। कफीको चेरी र बिरुवा बिक्रीबाट छुट्टाछुट्टै आम्दानी हुने गरेको छ।

२०७४ सालमा ‘इलाम एग्रो फार्म’ दर्ता गरी उनले व्यावसायिक कफीखेती गर्दै आएका हुन्। “अधिकांश बोटले आम्दानी दिन्छन्,” उनले भने, “फ्रेस चेरी ए ग्रेड कफी प्रतिकिलो १०५ रुपैयाँसम्ममा बिक्ने गरेको छ, सरदरमा वार्षिक सात लाखसम्म आम्दानी भइरहेको छ।”

‘अरविका’ नामक कफीखेती विस्तार गरेका उनले बिरुवाबाट समेत आम्दानी गरिरहेका छन्। “मेरो नर्सरीमा वर्षमा १५ देखि २० हजार बिरुवा उत्पादन हुन्छ। प्रतिबिरुवा ३० रुपैयाँका कार दरले नर्सरीबाटै बिक्री हुन्छ।” बिरुवा विभिन्न पालिका, वडा कार्यालय एवं फार्मले खरिद गरी लैजाने गरेको उनले बताए। 

कफीखेतीका लागि प्रशस्त जमिन र उपयुक्त वातावरण भएकाले यसतर्फ किसानको मोह बढेको उनले बताए। “वनजंगलको आडैमा प्रशस्त खाली जमिनमा लगाइएका कफीका बिरुवाले हराभरा देखिन थालेका छन्,” उनले भने, “यसलाई हामी सामुदायिक अवधारणामा विभिन्न संघसंस्था र वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाभरि विस्तार गर्ने योजना छ।”

कफीको मूल्य राम्रो पाइने र बिक्रीका लागि समस्या पनि नभएकाले किसानले अन्य पेसा छाडेर कफीखेतीतर्फ लागेको उनले बताए। 

माङसेबुङ गाउँपालिका–२ इभाङका किसान गणेश लिम्बूले पनि अन्नबाली उत्पादन हुने जग्गामा व्यावसायिक कफीखेती विस्तार गरेका छन्। उनले २५ रोपनी जग्गामा दुई हजार ५०० बोट कफी लगाएका छन्। लगानी धेरै नपर्ने र मेहनत पनि खासै नपर्ने भएकाले चार वर्षदेखि व्यावसायिक कफीखेती शुरू गरेको उनले बताए। 

“मेरो बगानमा अहिले दुई हजार ५०० बोट पुगेको छ। यसलाई अझ विस्तार गरी १० हजार पुर्‍याउने लक्ष्य छ,” उनले भने। 

माङसेबुङ गाउँपालिका–१ तोभाङका छत्र कार्कीले चार वर्षदेखि कफीखेती गर्दै आएका छन्। करिब ५०० कफीका बिरुवा लगाएका उनले राम्रो आम्दानी गरिरहेको बताए। “मलजल र स्याहारसुसार पुग्यो भने रोपेको दुई वर्षदेखि नै आम्दानी दिन थाल्दोरहेछ। यो वर्ष ७० हजारजति आम्दानी भयो,” उनले भने “यो सालदेखि अझ विस्तार गर्ने योजनामा छु।” पहाडी क्षेत्रमा विगतमा भन्दा यो वर्ष कफीखेती राम्रो रहेको र किसान यस खेतीबाट सन्तुष्ट भएको उहाँको भनाइ छ।

माङसेबुङ गाउँपालिका–२ काब्राबोटेका पृथीमान जवेगूले पनि ५०० कफीका बिरुवा रोपेर खेती शुरू गरेका छन्। पहाडी क्षेत्रको चिसो ठाउँमा कफी लगाउन सकिने र कफीबाट आम्दानी लिन सफल भएपछि आगामी वर्ष खेती विस्तार गर्ने योजना रहेको उनले बताए। 

माङसेबुङ गाउँपालिका–१ का गजुरमुखी, नाङरुङ, तोभाङ र वडा नं २ का इभाङ, डाँडागाउँ, काब्राबोटे गाउँका ३५० जना किसानले व्यावसायिक कफीखेती गर्दै आएका छन्। पहाडी भेगका गाउँमा कफीखेती गर्ने किसान बढ्दै गएका छन्। उनीहरूले खेतबारीमा अन्नबाली लगाउन छाडेर कफी रोपेका छन्।

उत्पादन राम्रो हुँदै गएकाले किसान कफीखेतीतर्फ दिनप्रतिदिन आकर्षित बन्दै गएका हुन्। माङेबुङ गाउँपालिकाभर ६० हजार कफीको बिरुवा रोपिएको गाउँपालिकाको तथ्यांक छ।