पीएनजीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो। नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए।

काठमाडौँ– नेपाल हङकङमा जारी त्रिकोणात्मक टी२० सिरिजको फाइनलमा प्रवेश गरेको छ। ओपनर कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा पिएनजीलाई ८५ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। 

मिसन रोड ग्राउन्ड, मोंग कोकमा नेपालले प्रस्तुत गरेको १९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा ११३ रनमा अलआउट भयो।  

पीएनजीका हिरी हिरीले २८, सेसे बाउले २१ तथा टोनी उराले १३ को योगदान दिए। 

नेपालका कुशल भुर्तेलले १२ रन खर्चेर ४ विकेट लिए। प्रतिश जिसीले २ तथा आकाश चन्द र गुलशन झाले १–१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको थियो। नेपालका कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतक प्रहार गरे। 

कुशलले ३९ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाए।  सन्दीपले २१ बलमा आफ्नो दोस्रो टी२०आई अर्धशतक पूरा गरे। उनले २६ बलमा उनले ३ चौका र ४ छक्काको मद्दतमा ५६ रन जोडे। 

विनोद भण्डारीले २२ बलमा २ चौका र १ छक्कासहित २७ रन बनाए। लोकेश बमले ६ बलमा २ छक्कासहित १४ रन जोडे। विवेक यादव ४ बलमा ३ छक्काको मद्दतमा १९ रनमा नटआउट रहे। गुलशन झाले १२ बलमा १ छक्कासहित १५ रन बनाए।

पीएनजीका असाद भालाले २ तथा जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १–१ विकेट लिए।