मिटरब्याज पीडितको गुनासो– न्यायको आश्वासन त पायौँ, घर फर्किने नै पैसा छैन

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा भएको आन्दोलनमा करिब चार हजार किसान सहभागी भए। ४२औँ दिनमा सरकारसँग चार बुँदे सहमति भए पनि कार्यान्वयनमा शंका रहेको पीडित बताउँछन्।

काठमाडौँ– तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका–५, रतनगन्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट अन्याय भएको गुनासो लिएर पहिलो पटक काठमाडौँ आएका थिए। १८ जना पीडित किसान उनको साथमा थिए। त्यसयता कति माइतीघरको चिसो भुईंमा धर्ना बसे। कति किलोमिटर पैदल हिँडेर संघर्ष गरे, उनलाई याद छैन। 

यसबीचमा सरकारले पटक–पटक उनीहरूसँग सहमति गरेको छ। आयोग र छानबिन समिति बनाएको छ। तर उनीहरूका समस्या भने ज्यूँका त्यूँ छन्। “तीन वर्षदेखि न्यायका लागि भौँतारिएको सम्झिँदा यस पटक पनि के होला भनेर मनमा डर छ,” मुसहरले भने, “४२ दिनदेखि यत्रो संघर्ष गर्दा पनि सरकारले न्यायको आशा मात्रै दियो। अब हामीसँग त न यहाँ बस्दा खानेकुरा छ, न फर्किने पैसा।’

उनले छोरीको बिहेका लागि गाउँकै साहुसँग चार लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए। ऋण लिनेबेला साहुले धितो अनिवार्य भन्दै साढे १० कठ्ठा जग्गा आफ्नी श्रीमतीको नाममा पास गर्न लगाए । पैसाले समस्या परेका बेला रामशुभगले पनि जग्गा दिएरै ऋण लिए। उनले १५ महिनापछि साहुको ऋण ब्याजसहित नौ लाख ४० हजार रुपैयाँ फिर्ता गरिसके।

“साढे चार लाख ऋण लिएको, एक वर्ष तीन महिनामा मैले ९ लाख ४० हजार रुपैयाँ तिरेँ,” उनी भन्छन्, “पैसा बुझ्दा साहुले दुई दिनमा जग्गा फिर्ता गरिदिन्छु भनेका थिए। जग्गा नदिएपछि म न्याय खोज्दै भौँतारिनुपर्ने अवस्थामा पुगेँ।”

सरकारले सहमति गरेर आन्दोलन टुंग्याए पनि पीडितको पीडालाई कसैले नबुझेको उनको गुनासो छ। “विगतमा पनि गृहमन्त्रीले प्रतिबद्धता जनाए। तर कार्यान्वयन भएन। अहिले नयाँ गृहमन्त्री हुनुहुन्छ। उहाँले  समाधान गर्छु भन्नुभएको छ। तर भर पर्ने अवस्था छैन,” उनले भने, “किनभने यसैगरी हामीले आन्दोलन थालेको साढे तीन वर्ष भइसकेको छ।”

रामशुभगजस्तै पटक–पटक आन्दोलनमा काठमाडौँ आइसकेकी छन्, प्रतापपुर गाउँपालिका–४ की तिलसरादेवी राजभर। उनले विदेश जाने बेला गाउँकै साहु जगदीश बानियाँबाट एक लाख रुपैयाँ लिएकी थिइन्। साउदी पुगेर मजदुरी गरेकी उनले आठ महिनामै एक लाख रुपैयाँ फिर्ता गरिन्। तर त्यसपछि पनि साहुले छोडेनन्। “मैले १२ वर्षसम्म मजदुरी गरेको पैसा साहुले खाइदिए। १० लाख रुपैयाँ लगे,” उनले भनिन्। साहुले हडपेको त्यही पैसा फिर्ता पाउनुपर्ने भन्दै उनी तेस्रो पटक काठमाडौँ आइपुगेकी हुन्। 

मिटरब्याज तथा ठगीविरुद्ध किसान संघर्ष समितिको संयोजनमा भएको आन्दोलनमा करिब चार हजार किसान सहभागी भए। अहिले पनि सयौँको संख्यामा पीडितहरू काठमाडौंँमा नै छन्। 

संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहाले ४२औँ दिनमा सरकारसँग चार बुँदे सहमति भए पनि कार्यान्वयनमा शंका रहेको बताए। “पूर्ण विश्वास गर्ने अवस्था छैन। हामी शंका र आलोचनाको दृष्टिले पनि हेरिरहेका छौँ,” उनले भने, “त्यसकारण सहमति कार्यान्वयन नभएसम्म घर फर्किने वा यही बसेर दबाब दिइरहने भन्ने टुंगोमा पुगिसकेका छैनौँ ।’

उनले आफूहरूसँग घर फर्किनका लागि पैसा समेत नभएको र त्यसबारे पनि सरकारसँग कुरा भइरहेको बताए।