टी२० शृंखलाको फाइनलमा पपुवा न्युगिनी र नेपाल भिड्ने

हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो।

काठमाडौँ– पपुवा न्युगिनीले हङकङलाई १० विकेटले पराजित गर्दै हङकङ मेन्स टी२० शृंखलाको फाइनलमा पुगेको छ।

मंगलबार मोङकोकमा भएको दोस्रो खेलमा पपुवा न्युगिनीले बिनाविकेट क्षतिमा हङकङले दिएको लक्ष्य भेटाउँदै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। शृंखलाको फाइनल खेल बुधबार हुँदै छ।

हङकङविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनीले १२.४ ओभरमै लक्ष्य पूरा गर्‍यो। पपुवा न्युगिनीका लागि ओपनरद्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ्स खेले।

४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले। यस्तै, ३३ बलको सामना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पपुवा न्युगिनी ८५ रनले पराजित भएको थियो। तर दोस्रो खेलमा पपुवा न्युगिनीले हङकङलाई पराजित गर्दै बुधबार हुने फाइनलको यात्रा तय गरेको हो।