शेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सयको विन्दु

पाँच वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचक ५८.५८ अंकले बढेर २१११.२४ को विन्दुमा कायम भएको छ। करिब एक महिनापछि मंगलबार नेप्से परिसूचक २१०० को बिन्दु नाघेको छ।

विभिन्न ३०५ कम्पनीका एक करोड ६ लाख नौ हजार ५९७ कित्ता शेयर ८२ हजार ७४६ पटक खरिदबिक्री हुँदा चार अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ बराबरको कारोबार भएको छ।

मंगलबारको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जीवन बीमा समूह ५.४४, लघुवित्त समूह ५.०५ र होटल तथा पर्यटन समूह ३.९३ प्रतिशतले बढेको छ। बैंकिङ ३.१०, विकास बैंक २.१७, वित्त समूह २.२९, जलविद्युत् ०.९९, लगानी समूह १.८७ र उत्पादन तथा प्रशोधन समूह २.३४ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड १.५५, निर्जीवन बीमा ३.१५, व्यापार १.६९ र अन्य समूह १.६४ प्रतिशतले बढेको छ।

साथै पाँच वटा लघुवित्त कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड, विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। हिमालयन ८०–२० को शेयर मूल्य सबैभन्दा धेरै २.५७ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा मंगलबार सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको ३७ करोड १९ लाख ३३ हजार ७८६ रुपैयाँ बराबरको ६ लाख ७३ हजार ७०६ कित्ता किनबेच भएको छ।