सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्नेमा सांसदहरूको जोड

जनताको स्वास्थ्यमा असर गर्ने कुरालाई राजस्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने, पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने सांसदहरूको धारणा रहेको छ।

काठमाडौँ– सांसदहरूले सुर्ती, खैनी तथा गुट्खा उत्पादनमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन्। 

मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा सांसदले सुर्तीजन्य उद्योगहरूको उत्पादनका लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायतकालमा सञ्चालन भएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताए।

उनीहरूले उद्योगको पुँजी वृद्धि तथा क्षमता अभिवृद्धिको अनुमति दिइसकेपछि सो विषयमा छलफल गर्नुको औचित्य नरहेको पनि धारणा राखेका थिए। जनताको स्वास्थ्यमा असर गर्ने कुरालाई राजस्वका दृष्टिकोणले मात्रै हेर्नु नहुने, पैसा कमाउने उद्देश्य मात्रै राज्यले लिन नहुने उनीहरूको भनाइ थियो।

बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले सुर्तीजन्य गुट्काको उद्योग सञ्चालनको लागि मात्रै क्षमता अभिवृद्धि गर्ने हो भने पञ्चायतकालमा सञ्चालनमा आएको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नुपर्ने बताइन्। उनले सुर्तीजन्य उद्योगहरूको क्षमता अभिवृद्धि गर्ने नभई रोक्ने दिशामा अघि बढ्नुपर्ने आवश्यकता औँल्याइन्।

बैठकमा बोल्दै नेपाली कांग्रेसकै सांसद रमा कोइराला पौड्यालले जनताको स्वास्थ्यलाई प्रभाव पार्ने कुरालाई राजस्वका लागि सुर्तीजन्य पदार्थको उत्पादनमा अभिवृद्धि गर्ने कुरा राम्रो नहुने बताइन्। राज्यले जनतालाई असर पर्ने कुरामा पैसा मात्रै कमाउने उद्देश्यबाट प्रेरित हुनु नहुने उनको भनाइ छ।

यस विषयमा राज्य व्यवस्था समिति र उद्योग समितिमा संयुक्त रूपमा छलफल गरेर अघि बढ्न आवश्यक रहेको उनले बताइन्। उनले पुँजी अभिवृद्धिको स्वीकृति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहेको धारणा राखिन्।

नेकपा एमालेका सांसद लालप्रसाद सावा लिम्बूले गुट्का उद्योगको पुँजी अभिवृद्धि तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि छलफल गर्नुको औचित्य नरहने बताए। अनुमति दिनुपूर्व नै छलफल हुनुपर्ने कुराको जवाफ सरकारले दिनुपर्ने उनको भनाइ छ। उनले क्षमता अभिवृद्धि किन गरिएको हो? भन्ने प्रश्न उठेको बताए। उनले स्वास्थ्य सम्बन्धीको असरलाई हेरेर छलफल गहन रूपले हुनुपर्नेमा जोड दिए।

जनता समाजवादी पार्टीका सांसद रेखा यादवले सरकारले युवाहरूलाई श्रम दिने कुरामा ध्यान दिने हो भने रुग्ण उद्योगहरूलाई सञ्चालन गर्नुपर्ने बताइन्। गुट्का, खैनीबाहेकका रुग्ण उद्योगमा थप लगानी गरेर स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। उनले नेपालमा खैनी तथा सुर्तीजन्य सामग्री बेच्न नदिने भए उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बाहिर पठाउने योजना र कार्यक्रम अघि सार्नुपर्ने धारणा राखिन्।

बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले गुट्का उद्योगको पुँजी तथा क्षमता अभिवृद्धि गर्ने अनुमति दिइसकेपछि समितिमा छलफल गर्नुको ओचित्य नभएको बताए। कानून मानेर खोलिएका उद्योग सरकारले सञ्चालन गर्न दिनुपर्ने उनको भनाइ छ।

उनले सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण र बिक्री वितरणका लागि तोकिएको नियमनका प्रक्रियाको कार्यान्वयन गर्न आवश्यक रहेको बताए। उनले गुट्का, खैनी र सुर्तीजन्य पदार्थको बिक्री वितरण र उत्पादनसम्बन्धीको मापदण्ड निर्मम भएर लागू गर्न सके‍ धेरै कुरा नियन्त्रणमा आउने उल्लेख गरे‍।

बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले गुट्का, खैनी र सुर्तीजन्य उद्योगहरू कति छन्? भन्नेबारेमा सरकारसँग यकिन तथ्यांक नरहेको बताए। उनले भएका उद्योग कसरी चलिरहेका छन्, उनले उत्पादन गरेका वस्तुहरूको गुणस्तरीयताको मापन कसरी भइरहेको छ? भन्नै प्रश्न गरे। आवश्यकताको आधारमा उद्योग बन्द गर्नुपर्ने उनको भनाइ छ। उनले उद्योग बन्द गर्दा त्यसले पार्ने असरमा पनि सरकारले ध्यान दिनुपर्ने बताए।

उनले नेपालमा सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगहरू बन्द गर्दा बाहिरबाट हुने आयातको बारेमा पनि विशेष ध्यान दिनुपर्ने उल्लेख गरे। उनले सुर्तीजन्य पदार्थहरूको उत्पादन नियन्त्रण गर्न आवश्यक रहेको बताए। समितिको बैठकमा अन्य सांसदले चलिरहेका उद्योगहरूलाई अबबाट उत्पादन वृद्धि गर्न नदिने गरी सरकार अघि बढ्नुपर्ने बताए।