प्रधानमन्त्री दाहालले मागे विश्वासको मत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको भावनाविपरीतका विचलन रोक्नका लागि आफूलाई विश्वासको मत प्रदान गर्न संसद्सँग आग्रह गरेका छन्। 

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत दिन सांसदहरूलाई आह्वान गरेका छन्। 

बुधबार प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा, १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्दै मत दिन आग्रह गरेका हुन्। 

यस प्रस्तावमा छलफल गर्न दुई घण्टाको समय छुट्याइएको छ। प्रधानमन्त्री दाहालले संविधानको भावनाविपरीतका विचलन रोक्नका लागि आफूले विश्वासको मत पाउन आवश्यक रहेको बताए। 

अर्थतन्त्रमा व्यावसायिक वातावरण सुधार गर्न, राजनीतिक अस्थिरताले सृजना गरेको सामाजिक अराजकता, आक्रोश र नकारात्मक सोचमा परिवर्तन ल्याउन सरकारले विश्वासको मत पाउन जरुरी रहेको उनले स्पष्ट पारे। 

“पछिल्ला सबै आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गर्दै राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्ताप्रति गौरवबोध गर्न मलाई संसद्को समर्थन चाहिएको छ,” प्रधानमन्त्री दाहालले भने, “म सम्मानित संसद्लाई विश्वास दिलाउँछु हजारौँ नयाँ ‘स्टार्टअप’ र उद्यमशीलता केही महिनामै शुरू हुनेछन्। आत्मनिर्भरताको व्यवस्थित प्रयास हुनेछ।” 

सुशासनमा अहिलेसम्म भएका प्रयासले लोकतन्त्रप्रति जनताको आस्था पुनः स्थापित गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सार्वजनिक सेवा प्रवाह र सुशासनबाट नागरिकमा राज्यप्रति भरोसा जगाइने बताए।

प्रधानमन्त्री दाहालले बुधबारकै प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने कार्यक्रम छ।