पश्चिमालाई पुटिनको चेतावनीः आणविक युद्धको लागि रुस तयार छ

अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्।

भ्लादिमिर पुटिन/तस्वीर: रोयटर्स

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकलाई चेतावनी दिँदै प्राविधिक रूपमा आणविक युद्धको लागि रुस तयार भएको बताएका छन्।

अमेरिकाले युक्रेनमा आफ्ना सेना पठाए आणविक युद्ध पनि हुन सक्ने भन्दै उनले बुधबार चेतावनी दिएका हुन्। उनले युक्रेनमा आणविक हतियारको प्रयोगको आवश्यकता नभएको तर अमेरिकाले आफ्ना सेना पठाए आफू प्राविधिक रूपमा आणविक युद्धको लागि तयार भएको बताएका रोयटर्सले जनाएको छ।

"आणविक हतियारको लागि सैन्य-प्राविधिक दृष्टिकोणबाट, हामी पक्कै तयार छौँ," रुसी समाचार एजेन्सी आरआईएलाई दिएको अन्तर्वार्तामा ७१ वर्षीय पुटिनले भनेका छन्, "रूसी भूमि (रुसले कब्जा गरेको युक्रेनी भूभाग) वा युक्रेनी भूमिमै पनि अमेरिकाले सेना तैनाथ गरेमा रुसले हस्तक्षेप गर्ने कुरा उसलाई राम्रोसँग थाहा छ।" उनले रुसको क्षमतालाई देखेर पश्चिमाले यस्तो गर्ने आँट गर्न नसक्ने पनि बताएका छन्। 

रुसमा यही मार्च १५–१७ मा राष्ट्रपतिको चुनाव हुँदैछ। अर्को छ वर्ष उनी सत्तामा रहने सम्भावना लगभग निश्चित छ। 

युरोपेली सुरक्षाको शीतयुद्धपछिको नयाँ सीमांकनको लागि युक्रेनमा वार्ता गर्ने प्रस्तावको केही दिनमै पुटिनको यस्तो आणविक चेतावनी आएको हो। अमेरिकाले पुटिन युक्रेनमा गम्भीर वार्ताका लागि तयार नभएको बताएको छ।

युक्रेनको युद्धले १९६२ को क्युबा मिसाइल संकटपछि रसियाको पश्चिमासँगको सम्बन्धमा सबैभन्दा गहिरो संकट पैदा गरेको छ। त्यसैले पुटिनले अमेरिकाले युक्रेनमा लड्न आफ्ना सेना पठाएमा आणविक युद्धलाई उक्साउन सक्ने चेतावनी दिँदै आएका छन्।