प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री अबको आवश्यकता हो: सीके राउत

जनताबाट म्यान्डेट लिएर आएका नेताहरूले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिनुपर्ने बताए। जनमतले विश्वासको मत नदिने उनको भनाइ थियो।

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले गठबन्धन बन्ने र भत्कने प्रक्रियाले जनताले के पाए भन्दै प्रश्न गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले कि गठबन्धन गरेर निर्वाचन लड्न नपाइने कानून बनाउनुपर्ने या यो व्यवस्था नै खारेज गनुपर्ने बताएका हुन्।

उनले भने, "गठबन्धन पटक पटक बन्छ। पटक पटक भत्किन्छ। तर यसबाट जनताले चाहिँ के पाइराखेका छन्? या त निर्वाचनमा गठबन्धन रोक्नसक्ने ऐन कानून बनाउनुपर्‍यो  नभए यो व्यवस्था नै परिवर्तन गनुपर्‍यो।"

जनताबाट म्यान्डेट लिएर आएका नेताहरूले जनमत बचाउन नसकेको उल्लेख गर्दै राउतले विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरे।

उनले भने, "यहाँ नेताहरूले राखेका विचारबाट के प्रष्ट हुन्छ भने जुन मत जनताले हामीलाई दिएका छन्। त्यो जनमत हामीले बचाउन सकेका छैनौं। कहिले यता हाल्नुपरेको छ कहिले उता हाल्नुपरेको छ। यो हामीले बताउन सकिरेहका छैनौँ। विश्वासको मत जनताको हातमा सुम्पिएर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री ल्याउने व्यवस्था गरौँ।"

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा अर्थतन्त्रका आँकडा प्रस्तुत गर्दैगर्दा राजश्व कति बढ्यो र खर्च कति भयो भन्न किन डराउनुभयो भन्दै प्रश्न गरेका थिए।

उनले गौर हत्याकाण्डका आरोपीसँग प्रधानमन्त्रीसहितका वामपन्थीहरू कुम जोडेर बसेको उल्लेख गर्दै कारबाही हुन्छ कि हुँदैन भनेर आफूहरू हेरिरेको पनि बताए। जनमतले प्रधानमन्त्री विपक्षमा मतदान गर्ने उनको भनाइ थियो।