फाइनलमा पपुवा न्युगिनीसँग नेपाल पराजित

पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो।

काठमाडौँ– त्रिकोणात्मक टी–२० सिरिजमा पपुवा न्युगिनी (पीएनजी)सँग नेपाल पराजित भएको छ। हङकङमा जारी नेपाल, हङकङ र पीएनजीबीचको सिरिजको फाइनलमा बुधबार नेपाल पीएनजीसँग ८६ रनले पराजित भएको हो। 

मंगलबार बिहान ८५ रनले हराएको पीएनजीसँग आज नेपाल स्तब्ध बन्यो। पीएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल ८५ रन बनाउँदा १६.३ ओभरमा अलआउट भयो। नेपालका कुनै पनि खेलाडीले राम्रो ब्याटिङ गर्न सकेनन्। 

सन्दीप जोराले १३ बलमा ३ चौकासहित सर्वाधिक १७ रन बनाए। तीव्र गतिका बलर कबुवा मोरेवाले ओपनर कुशल भुर्तेललाई ५ र विनोद भण्डारीलाई ४ रनमा क्याच आउट गर्दै पीएनजीलाई उत्कृष्ट शुरूआत दिलाएका थिए। गुल्शन झा १० बलमा १ चौकासहित ६ रनमा रन आउट भए। रोहित पौडेल १२ र सन्दीप जोरा १७ तथा विवेक यादव १ रनमा क्याच आउट भए।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो। पीएनजीका टोनी उराले सर्वाधिक ६१ रनको अर्धशतकीय इनिंस् खेले। हिला भारेले १८, हिरीहिरीले १५, किपलिन डोरिगाले १४, चाड सोपरले १३ रन बनाए। अलेई नाओ ३० रनमा नटआउट रहे। नेपालका कुशल भुर्तेल र आकाश चन्दले ३–३ तथा करण केसी र गुल्शन झाले १–१ विकेट लिए।