६ करोड लगानीमा ‘सुलभ फार्मेसी’ खोल्दै काठमाडौँ महानगर

फार्मेसी सञ्चालन निर्देशिका तयार गर्न महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले स्वर्णिम योजनाका रूपमा न्यूनतम मूल्यमा औषधि बिक्री वितरण गर्ने गरी ‘सुलभ फार्मेसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। 

महानगरको वार्षिक नीति तथा कार्यक्रमबमोजिम निर्देशिका तयार गरी सुलभ फार्मेसी सञ्चालन गर्न लागिएको हो। प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको अध्यक्षतामा बसेको बैठकले निर्देशिका तयार गर्न कार्यदल गठन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत परियारले सकेसम्म छिटो फार्मेसी सञ्चालनका लागि निर्देशिका तयार गरी अघि बढ्नुपर्ने बताए। 

महानगरको कानून तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्यको संयोजकत्वमा निर्देशिका मस्यौदा समिति गठन गरिएको छ। समितिको सदस्यमा फर्मासिस्ट बाबुराम हुमागाईँ, संगीता माथेमा, चैन बज्राचार्य, मणि लामा र स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जन छन्। कार्यदललाई सात दिनको समय दिइएको छ। 

“यस प्रकारका फार्मेसी सञ्चालन गर्न अनेक ढाँचा हुन सक्छन्। यीमध्ये चालु आर्थिक वर्षमा महानगर आफैँले पाँच वटा फार्मेसी सञ्चालन हुने गरी काम गर्नुपर्नेछ। गुणस्तरीय र दिगो कार्यक्रम यसको न्यूनतम आधार रेखा हो,” परियारले भने।  

बजारमा शिक्षित नागरिक पनि फार्मेसीबाट ठगिनुपर्ने अवस्था रहेको भन्दै त्यसलाई व्यवस्थित गर्नसमेत फार्मेसी सञ्चालन गरी नागरिकलाई राहत दिनुपर्ने बताए। 

महानगरका अनुसार हाल उपभोक्ताले ४० प्रतिशतभन्दा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ। कतिपय औषधिमा चार गुणासम्म मूल्य निर्धारण भएर बजारमा आएको पाइएको छ। 

नेपालमा करिब १८ हजार ब्रान्डकाका औषधि आयात हुने गरेको महानगरको तथ्यांक छ। त्यसमध्ये नेपालमा उत्पादित १२८ र विदेशी ३५० कम्पनीका औषधि रहेका छन्। नेपालमा वार्षिक करिब ७० अर्बको औषधि खपत हुने गरेको छ । 

महानगरले यसवर्ष सो कार्यक्रमका लागि ६ करोड रुपैयाँ विनियोजन गरेको छ।