श्रम क्षेत्रका समस्या सम्बोधन गर्न मन्त्रालयले बनायो कार्यदल

समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताएका छन्।

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम क्षेत्रमा देखिएका समस्या सम्बोधन गर्न कार्यदल गठन गरेको छ। 

मन्त्रालयका श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाका प्रमुख, सहसचिव गोविन्दप्रसाद रिजालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो। 

कार्यदलमा मन्त्रालयका उपसचिव मेघनाथ रिमाल र मन्त्रालयकै शाखा अधिकृत प्रकाश पन्थी सदस्य छन्। हालै वैदेशिक रोजगारी व्यवस्थापनसँग सम्बन्धित विभिन्न विषयमा विवाद रहेको विषय बाहिर आएको थियो।  

समितिले अध्ययन गरेर प्रतिवेदन बुझाएपछि ती निर्णय तथा विवादको समीक्षा गरेर निर्णय कार्यान्वयन गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बताए। 

अभिमुखीकरण तालिम शुल्क, वैदेशिक रोजगारीमा जाने दक्ष श्रमिकका लागि अंग्रेजी भाषा आवश्यक हुनेसम्बन्धी विषय, दक्षिण कोरियामा ईपीएस प्रणालीबाट कामदार पठाइरहेको अवस्थामा ई–सेभेन भिसामासमेत कामदार पठाउनेलगायत विषयमा विवाद देखिए मन्त्रालयले जनाएको छ। 

समितिले २१ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्नेछ।