कांग्रेसमा समानुपातिकतर्फ महिला मात्रै चुनिने सम्भावना

नेपाली कांग्रेसले पार्टीका उपल्लो तहका नेता गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशशरण महत, जीवन परियार, फरमुल्लाह मन्सुरलगायतलाई समानुपातिक सूचीमा राखे पनि मौका नपाउने सम्भावना बढेको छ।

काठमाडौैँ– बिहीबार बिहानै कांग्रेस प्रवक्ता डा. प्रकाशसरण महतको घर बाँसवारीमा नेता तथा कार्यकर्ताको भिड लागिसकेको थियो। महत कांग्रेसले बनाएको निर्वाचन परिचालन समिति सदस्य पनि हुन्। उनको घरमा लागेको भिड चुनाव जितेर ‘धन्यवाद’ दिन आएका नेताहरूको भने थिएन।

त्यो भिडमा अघिपछि भन्दा फरक आवाज सुनिएको थियो। “मलाई जसरी पनि सांसद् बनाउनु पर्यो हजुर, पार्टी संगठन निर्माणमा जीवनभर समय खर्चिएको छु। ती कलिली केटीको पार्टी निर्माणमा कुनै भूमिका छैन,” स्याङ्जाका एक नेता महतलाई भनिरहेका थिए। 

महतले भने उनलाई सम्झाइरहेका थिए, “त्यसो भनेर हुन्न। संविधानअनुसार हामी चल्नुपर्छ। एकतिहाइ महिला अनिवार्य पठाउनुपर्नेछ। त्यसपछि मात्रै पुरूषको कुरा आउला।” महतले त्यति भनेपछि उनी त्यो भिडबाट बाहिरिए। तर, ‘सांसद् बनाइदिन’ आग्रह गर्ने अन्य नेता–कार्यकर्ता पनि आइरहेका थिए।

कांग्रेसका एक नेताका अनुसार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा पनि प्रतिनिधि र प्रदेशसभा समानुपातिक सूचीमा परेका पुरूष उम्मेदवार सांसद् बनाइदिन आग्रह गर्न जाने गरेका छन्। 

गएको मंसिर ४ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम आइसकेको छैन। प्रतिस्पर्धामा उत्रिएका दलहरूले प्रत्यक्षतर्फ जित्ने सिटको खाका लगभग आइसकेको छ। सत्तामा रहेका दलहरूबीच गठबन्धन गरेको कांग्रेसको भागमा प्रतिनिधिसभातर्फ ९१ सिट परेको थियो। कांग्रेस नेताका अनुसार त्यसमध्ये ७० सिट जित्ने आन्तरिक मूल्यांकन थियो। तर, परिणामले देखाएको रुझान अनुसार कांग्रेसले ५७ सिट आसपास मात्र जित्ने सम्भावना बढेको छ।

कांग्रेसले प्रत्यक्षतर्फ पाँच जना महिलालाई मात्र उम्मेदवार बनाएको थियो। संविधानअनुसार संघीय र प्रदेशिक दुवै संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनुपर्छ। तर, प्रत्यक्षमा ३३ प्रतिशत महिला उम्मेदवार नबनाएपछि अब समानुपातिकबाट पुर्याउनुपर्छ।

कांग्रेसका पाँच महिला उम्मेदवारमध्ये दुुई जना पराजित भइसकेका छन्। पुष्पा भुसाल अर्घाखाँचीबाट र डिना उपाध्याय मकवानपुर–१ बाट पराजित भएका छन्। मोरङ–२ बाट उम्मेदवार भएकी सुजाता कोइराला एमालेका ऋषिकेश पोखरेलसँग र तेह्रथुमबाट उम्मेदवार भएकी सीता गुरुङ एमालेकै विजय सुब्बासँग कडा प्रतिस्पर्धामा छन्। सिराहा–२ बाट उम्मेदवार भएकी चित्रलेखा यादव तेस्रो स्थानमा छिन्। 

कांग्रेसले समानुपातिकमा कति प्रतिशत ल्याउँछ भन्ने निश्चित भइसकेको छैन। तर, प्रत्यक्षतर्फ महिला उम्मेदवारले नजित्दा वा न्यून संख्यामा जित्दा समानुपातिकबाट पुरुष सांसद्ले प्रतिस्पर्धा गर्न नपाउने सम्भावना भएको एक नेताले बताए। त्यहीकारण समानुपातिक सूचीमा परेका शीर्ष पुरुष नेता पनि तनावमा परेका छन्।

कांग्रेसमा एक जना पनि महिलाले प्रत्यक्षतर्फ नजितेको अवस्थामा प्रत्यक्षतर्फ ५७ पुरुषले चुनाव जित्दा समानुपातिकबाट कांग्रेसले ३३ सिट पाए ३० जना महिला हुनुपर्छ। तर, २९ जनाले मात्र प्रतिनिधित्व गर्ने मौका पाए सूचीमा रहेका महिलाले मात्र सांसद् बन्न पाउनेछन्। राष्ट्रियसभामा कांग्रेसका १० सांसद् छन्। तीमध्ये तीन जना महिला छन्। यदि, राष्ट्रियसभामा ३३ प्रतिशत नपुगे त्यो संख्या पनि प्रतिनिधिसभाबाट सोधभर्ना गर्नुपर्ने वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी बताउँछन्।

“एक त प्रत्यक्षतर्फ कम महिलालाई टिकट दिइयो। तिनीहरू पनि नजित्ने देखिन्छ”, कांग्रेसका एक पदाधिकारीले भने, “प्रत्यक्ष नजितेमा समानुपातिकबाटै एकतिहाइ महिला सांसद्मा पठाउनु पर्ने हुन्छ। त्यसकारण समानुपातिकतर्फ पुरूष सांसद बन्ने सम्भावना निकै कम छ।”

शीर्षनेता ‘आउट’ हुने संभावना 
पछिल्लोपटक प्राप्त मत परिणामले समानुपातिक प्रणालीबाट सांसद् बन्न अधिकांश पुरुष उम्मेदवारले नपाउने सम्भावना बढेपछि कांग्रेस नेता तनावमा छन्। कांग्रेस प्रवक्ता महत आफैँ पनि सांसद् बन्न नपाउने जोखिममा परेका छन्। 

कांग्रेसले निर्वाचन आयोगलाई बुझाएको समानुपातिकको बन्दसूचीको खसआर्य समूहमा पहिलो नम्बरमै महत छन्। उनले भने, “प्रत्यक्षतर्फ महिलाले जित्ने सम्भावना निकै कम छ। एक जनाले पनि जित्नु भएन भने समानुपातिकमा दबाब पर्छ।” महतले यसपटक नुवाकोटबाट चुनाव लड्ने इच्छा देखाए पनि माओवादी केन्द्रका कारण पाएनन्। काठमाडौं–५ मा चुनाव लड्न भनिए पनि उनले नै रुचि देखाएनन्।

महतबाहेक कांग्रेस पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, सहमहामन्त्री जीवन परियार, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, वसन्त भट्टराई जस्ता नेता समानुपातिक सूचीमा छन्। 

अब बदल्ने ठाउँ छैनः निर्वाचन आयोग
पार्टी नेतृत्वलाई समानुपातिक सांसद् बनाउन पुरूष नेताले दबाब दिए पनि निर्वाचन आयोगलाई बुझाएको बन्दसूची अब परिवर्तन गर्न मिल्दैन। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया दलहरूले आयोगलाई बुझाइसकेको बन्दसूचीमा अब कसैले पनि हेरफेर गर्न नमिल्ने बताउँछन्। “हामीले तोकेको समयमा प्रक्रिया पूरा गरेर बुझाएको बन्दसूचीमा अब आएर हेरफेर गर्न मिल्दैन। दलहरूले समानुपातिक सांसद बनाउँदा संवैधानिक व्यवस्थालाई ख्याल गर्नुपर्छ”, थपलिया भन्छन्।

अघिल्लो प्रतिनिधिसभामा महिला सांसद्हरूले प्रत्यक्षतर्फ ५० प्रतिशत महिला उम्मेदवार उठाउनु पर्ने माग गरेका थिए। यो विषय प्रतिनिधिसभाको बैठकमा छलफलमै सीमित भयो। राष्ट्रिय सरोकार तथा समन्वय समितिले पनि दलहरूलाई ५० प्रतिशत महिला उम्मेदवार उठाउन लगाउन निर्वाचन आयोगलाई निर्देशन दिएको थियो। तर, आयोगले समितिको निर्देशन कार्यान्वयन गरेन। 

यसअघि पनि प्रत्यक्षमा महिला पराजित 
२०७४ सालको निर्वाचनमा कांग्रेसले गठबन्धन नगरी प्रतिस्पर्धा गरेको थियो। वाम गठबन्धनका कारण कांग्रेसले प्रत्यक्षमा २३ सिट मात्र जितेको थियो। तीमध्ये एक जना पनि महिला थिएनन्, यद्यपि नौ जना महिलालाई टिकट दिएको थियो। 

कांग्रेसले समानुपातिकतर्फ ४० सिट पाएको थियो। त्यसमध्ये २० जना महिला परेका थिए। समानुपातिकतर्फ कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो। 

कांग्रेस नेता मिनेन्द्र रिजाल समानुपातिकमा पुरुषको प्रतिनिधित्व नहुने अवस्था आउनु दुःखद् भएको बताउँछन्। “यो दृश्य निराशाजनक हो। अघिल्लोपटक पनि यस्तै अवस्था आएको हो। प्रत्यक्षमा महिलाले जित्ने वातावरण तयार भएको छैन भन्ने यसको सन्देश हो। महिलाले जित्ने वातावरण पार्टीहरूले बनाउने हो, त्यसका लागि अनिवार्य उम्मेदवार बनाउन संविधान पनि संशोधन गर्नुपर्ने हुनसक्छ”, रिजालले भने।

संसद्मा एक तिहाई महिला पुर्‍याउने विषय जायज भए पनि पुरुष प्रतिनिधित्व गराउन प्रत्यक्षतर्फ महिलालाई मौका दिनुपर्ने उनी बताउँछन्। प्रत्यक्षतर्फ पनि २० देखि २५ प्रतिशत महिला उम्मेदवार बनाउने प्रावधान राखिनुपर्ने उनको भनाइ छ।