सडकले जोडिए बागलुङका दुर्गम गाउँ, कालोपत्रको तयारी

अग्ला पहाड र खोँच छिचोल्दै सडक गाउँ पुगेको छ। भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा बिस्तारै विकासले गति लिन थालेको छ। 

ढोरपाटन– तमानखोला गाउँपालिका भौगोलिक विकटताका हिसाबले जिल्लामै दुर्गम मानिन्छ। बागलुङका धेरै पालिकामा थोरै भए पनि पक्की सडकले जोडिएका छन्। तर तमानखोलाका कुनै पनि सडक पक्की छैनन्। 

जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि उत्तर पश्चिममा रहेको तमानखोलाको केन्द्र बोंगादोभान बजारसम्मको सडक वर्षौं अगाडि ग्राभेलिङ गरे पनि अहिले हिलाम्मे र धुलाम्मे बनेको छ। २०७० सालमा पहिलोपटक यस क्षेत्रमा सडक पुगेको थियो। बुर्तिबाङ बजारदेखि ११ किलोमिटर दूरीमा रहेको बोंगादोभान सिंगो तमानखोलाको प्रवेशद्वार नै हो। 

बुर्तिबाङ बजारदेखि तमानखोला–३ तमान गाउँ र वडा नम्बर ४ लाम्मेला ढोरपाटन नगरपालिकाको खुंगा हुँदै पुग्न सकिने भए पनि अन्य वडामा बोंगा दोभानबाटै पुग्नुपर्छ। दुर्गम पालिकालाई पक्की सडकले जोड्ने गरी गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा २३ करोड २६ लाख २९ हजारको स्रोत सुनिश्चित गरेको छ। बहुवर्षे ठेक्का प्रक्रियामार्फत बुर्तिबाङ–बोंगादोभान सडक कालोपत्रे गरिने भएको छ। ट्रयाक खुलेको १० वर्षसम्म पनि सडक स्तरोन्नति नहुँदा जोखिम मोलेर यात्रा गर्दै आएका नागरिक कालोपत्रे हुने भएपछि हर्षित भएका छन्। 

भौगोलिक विकटतासँगै राज्यको नजरमा पर्दा अहिलेसम्म पछाडि परेको तमानखोलामा विस्तारै विकासले गति लिन थालेको छ। अग्ला पहाड र खोँच छिचोल्दै बस्ती पुगिने हुँदा सडक साँघुरा र अप्ठ्यारा छन्। साँघुरा सडकका कारण समय–समयमा दुर्घटना हुँदा नागरिकले अकालमा ज्यानसमेत गुमाउने गरेका छन्। बागलुङ क्षेत्र नम्बर २ (ख)बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले अब दुर्गमका नागरिकले पनि पक्की सडकमा यात्रा गर्न पाउने बताए। सडकसँगै अन्य विकासमा तमानखोला पछाडि परेको भन्दै अब भने यहाँका जनताले दुर्गममा भएको अनुभूति गर्न नपर्ने उनको भनाइ छ।

प्रदेशसभा सदस्य कुँवरले लामो समयको प्रयासपछि यस वर्ष तमानखोलाको मुख्य सडक कालोपत्रका लागि बजेट व्यवस्थापन गर्न सकेको बताए। “अहिलेसम्म तमानखोलामा कतै पनि कालोपत्रे सडक छैन। अब तमान खोलावासीले पनि कालोपत्रे सडक देख्न र यात्रा गर्न पाउने छन्। यो बहुवर्षे योजना हो,”  उनले भने, “यस वर्ष पाँच करोड विनियोजन भएको छ। बजेट पनि निरन्तर आउने आउने काम पनि हुँदै जानेछ।”

योसँगै बोंगा दोभान–खुङ्खानी नर्जाखानी, थास्पुरी तमान जोड्ने २२ किलोमिटर शहरी सडक स्तरोन्नतिका लागि तथा घट्टबोट र धोमइघाटमा मोटरेबल पुल निर्माणका लागि डीपीआर भएको उनले बताए। 

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले पालिकाको सीमित स्रोत साधनले सडक कालोपत्रे गर्न नसकिएको बताए। बुर्तिबाङ बजारदेखि बोंगा दोभानसम्म जोड्ने सडकमा दुई वटा पुल बनेका छन्।

ढोरपाटन –३ को हुँद्रा फेदी खोला र तमान खोलाको बालिबाङ खोलामा पुल नबन्दा बर्खामा यातायात ठप्प हुने स्थिति थियो। तीन वर्ष अगाडि फेदी र दुई वर्ष अगाडि बालिबाङ खोलामा पक्की पुल बनेपछि बाह्रै महिना यातायात सञ्चालन हुन थालेको अध्यक्ष बुढा मगरले बताए। अप्ठ्यारो सडकका कारण यात्रा गर्न र सामान ढुवानीमा समस्या हुने भन्दै छोटो दूरीमा पनि धेरै भाडा तिर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ।

सडक कालोपत्रेको काम पूर्वाधार विकास कार्यालयमार्फत हुनेछ। गण्डकी प्रदेश अर्थ मन्त्रालयले बजेट सुनिश्चितता गरेपछि कालोपत्रेका लागि प्रक्रिया अगाडि बढाइएको पूर्वाधार विकास कार्यालय बागलुङका सूचना अधिकारी इन्जिनियर दीपेश रिगलले जानकारी दिए।