जलवायु परिवर्तनका कारण जोखिममा मानव स्वास्थ्य, पर्दैन राज्यको प्राथमिकतामा

विज्ञहरूले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि सरकारहरूले अहिल्यैदेखि स्वास्थ्यका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ– विश्वव्यापी रूपमा बढ्दो तापक्रमका कारण जलवायुमा आएको परिवर्तनले मानव स्वास्थ्यमा परेको असरको मुद्दा अहिले पनि राज्यको प्राथमिकतामा पर्न नसकेको काठमाडौँमा भेला भएका पूर्वी एशिया, दक्षिण एशियासहित विभिन्न देशका वैज्ञानिक तथा चिकित्सकहरूले औँल्याएका छन्।

जलवायु परिवर्तनका कारण विश्वव्यापी रूपमा द्रुत गतिमा विभिन्न रोगको प्रकोप बढेको बताउँदै जनस्वास्थ्यको विषय मुख्य मुद्दा बन्न नसकेको र सरकारको प्राथमिकता पनि नपरेको उनीहरूले औँल्याएका हुन्। 

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, साइन्स हेल्थ पोलिसी, क्लाइमेट हेल्थ फाउन्डेसन, नेसनल एकेडेमी अफ मेडिसन, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, सेन्टर फर ग्लोबल चाइल्ड हेल्थसहितका संस्थाको आयोजनामा भएको दुईदिने कार्यक्रममा सहभागी विज्ञहरूले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा गम्भीर समस्या ल्याएको भन्दै सम्भावित जोखिम नियन्त्रणका लागि सरकारहरूले अहिल्यैदेखि स्वास्थ्यका क्षेत्रमा काम गर्न दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।

मलेसियाका जनस्वास्थ्य एवं मेडिसिन विज्ञ डा. भिक्टोर होइ जनस्वास्थ्यको विषय सिधै अर्थतन्त्रमा नजोडिने भएकाले छायामा परेको बताउँछन्। “यो सिधै र तत्कालीन रूपमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा जोडिन्न। तर लामो र दीर्घकालसम्म रहन्छ,” उनी भन्छन्, “यस्ता विषयहरू सरकारका प्राथमिकतामा कम पर्छन्।”

उनी जलवायुको विषयलाई अर्थतन्त्र, स्वास्थ्य, प्रविधि, पर्यटन, विकास र कृषिलगायतका विषयसँग जोड्नुपर्नेमा जोड दिँदै मलेसियाको प्राथमिकता हरित अर्थतन्त्र निर्माणमा रहेको दृष्टान्त प्रस्तुत गरे। “अहिले मलेसिया हरित अर्थतन्त्रमा लागेको छ। शहरमा न्यून कार्बन उत्सर्जन, गाउँमा अनुकूलनका कार्यक्रममा, मलेसिया सरकारका प्राथमिकताका विषय हुन्,” उनले भने। 

कार्बन फुटप्रिन्टका विश्वव्यापी अभ्यास र अतिकम विकसित देशका मुद्दाहरूका बारेमा आफ्ना विचारहरू राख्दै भारतका श्रीनाथ रेड्डीले अतिकम विकसित देशहरूले न्यूनीकरणभन्दा अनुकूलतामा विशेष जोड दिनुपर्ने बताए।

विज्ञ पपुलर जेन्टलले जलवायु परिवर्तनसम्बन्धी नेपालले बनाएका स्थानीय अनुकूलन आयोजनामा स्वास्थ्यको विषय नै नभएको बताउँछन्। “नेपालले बनाएका स्थानीय अनुकूलनसम्बन्धी योजनामा सरसफाइको विषयलाई नै जनस्वास्थ्यका रूपमा हेरिएको छ,” उनी भन्छन् “स्वास्थ्यको विषय ओझेलमा परेको छ। जलवायुमा आएको परिवर्तनले कुनै पनि बेला स्वास्थ्यसम्बन्धी विभिन्न महामारीहरू आउन सक्छन्। त्यसको सम्बोधन गर्ने हाम्रो पूर्वतयारी हुनुपर्छ।”

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान शाखा प्रमुख एवं जलवायु र जनस्वास्थ्य विषयका विज्ञ डा. मेघनाथ धिमाल सन् २००८ देखि मात्र स्वास्थ्यको विषयलाई जलवायुसँग जोडिएर हेर्न थालिएको बताउँछन्। जलवायुमा आएको परिवर्तनका कारण तराईमा मात्र देखिने डेंगी, मलेरियाजस्ता रोगहरू उच्च गतिमा देशका सबै भागमा देखिन थालेको भन्दै त्यसले मानव जनस्वास्थ्यमा समस्या ल्याएको धिमालको भनाइ छ।

उनका अनुसार सन् २००४ मा नेपालमा एक जना डेंगीका रोगी भेटिएका थिए। सन् २०१० मा ९१७ जना, सन् २०१९ मा १७ हजार ९९२ र सन् २०२२ मा ५४ हजार ७८४ र सन् २०२३ मा यो संख्या झन्डै ७० हजार पुगेको छ।