रैथाने बाली संरक्षणमा चुनौती

परम्परागत बाली गाउँको पाखो बारीमा पनि उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ।

ढोरपाटन– आधुनिक प्रविधिको विकास र बसाइँसराइको कारण बागलुङमा रैथाने बाली संरक्षणमा चुनौती बढेको छ। एक दशक अगाडिसम्म बागलुङको ग्रामीण क्षेत्रमा खेती हुने कोदो, सिमी, फापर, जौँ, उवालगायतका खाद्य बाली पछिल्लो समय निकै कम हुने गरेको छ। खेती कम हुन थालेसँगै उत्पादन पनि घटेको छ। 

किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्नका लागि कृषि ज्ञान केन्द्रले कृषकलाई प्रोत्साहन गर्न थालेको छ। किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने गरी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा पर्दै आएका थिए। उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोड्दै गएका हुन्। परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थे। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढाकिएका छन्। खेती भइरहेका बारीमा पनि फलफूललगायत अन्य नगदेबाली लगाइएको छ। स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेट विनियोजन गरेको छ। 

यस वर्ष प्याकेजिङ र बजारीकरण गरी दिने कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले जानकारी दिए। यसका लागि ज्ञान केन्द्रले १२ लाख विनियोजन गरेको छ। शुरूआती चरणमा रैथाने बाली उत्पादनका लागि आठ लाख र बजारीकरणका लागि चार लाख बजेट छुट्याएको छ। ग्रामीण क्षेत्रबाट बजार झर्ने बढेपछि रैथाने बाली संरक्षण गर्न नसकिएको सूचना अधिकारी पुन मगरले बताए। 

“पहिलाको जस्तो उत्पादन हुन छोडेको छ। गत वर्ष कोदोमा समस्या देखियो। त्यही भएर किसान निराश भए। धेरैजसो अहिले नगदेबालीतर्फ लागे। धेरै मिहिनेत गर्न नपर्ने खेती गर्न थाले,” उनले भने, “किसानले उत्पादन गर्ने वस्तुलाई प्याकेजिङ र बजारीकरणका लागि सहयोग गर्ने, कोदो, फापरको पीठो प्याकेजिङ गरेर बजारमा ल्याउने योजना बनाएका छौँ। यसले किसानलाई राहत पुग्ने अपेक्षा छ।”

काठेखोला गाउँपालिका–८ लेखानीका चानसिंह श्रीसले कोदोको बिस्कुट उत्पादन गर्न थालेका छन्। गाउँमै उत्पादन हुने रैथाने बाली कोदोलाई ब्रान्डिङ गरी बिस्कुट बनाएर बजारमा ल्याइ राखेका छन्। तर कोदो खेती धेरैले गर्न छोडेपछि पाउन मुस्किल पर्ने उनको भनाइ छ।  

बागलुङमा १८ हजार ४५६ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको ज्ञान केन्द्रले जनाएको छ। हरेक वर्ष २३ हजार ४५६ मेट्रिक टन कोदो उत्पादन हुने गरेकोमा पछिल्लो समय घट्दै गएको छ। ज्ञान केन्द्रका अनुसार बागलुङमा अहिले ८५ हेक्टरमा क्षेत्रफलमा फापरको खेती हुने गरेको छ। हरेक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको तथ्यांक छ।