रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा निर्वाचन अस्वीकार्य: राष्ट्रसंघ

युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको छ।

रुस–युक्रेन युद्ध चलिरहेका बेला युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपतिका लागि चुनाव गराउने कुराको अन्तर्राष्ट्रिय जगतमा विरोध भएको छ। ‍रुसमा शुक्रबारदेखि आम निर्वाचन जारी छ। निर्वाचनबाट राष्ट्रपति भ्लादीमिर पुटिन पाँचौँ पटक सत्तामा आउने लगभग पक्का छ। 

संयुक्त राष्ट्र संघको राजनीतिक र शान्ति स्थापना मामिला उप–महासचिव रोजमेरी डिकार्लोले सुरक्षा परिषद्का राजदूतलाई सम्बोधन गर्दै रुसी नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी राष्ट्रपति चुनाव गराउनु अस्वीकार्य भएको बताइन्। अन्तर्राष्ट्रिय कानुनअनुसार कब्जा गर्ने शक्ति अर्थात् रुसले आफ्नो नियन्त्रणमा रहेका क्षेत्रमा युक्रेनको कानून कायम गर्नुपर्ने उनको भनाइ छ। 

“मार्च १६ मा रुसले युक्रेनको क्रिमिया र सेभास्टोपोल क्षेत्रलाई जबरजस्ती विलय गरेको १० वर्ष पूरा भएको छ, जसलाई तथाकथित जनमत संग्रहको नाम दिइएको कुरा पनि अस्वीकार्य छ,” उनले भनिन्। 

रुसले २०२२ फेबुअरीदेखि लगातार युक्रेनमा आक्रमण गरेर डोनेट्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया क्षेत्र कब्जा गर्ने प्रयास जारी राखेको छ।

राजदूतलाई सम्बोधन गर्दै उप महासचिव रोजमेरी डेकार्लोले रुसी सेनाद्वारा जारी हवाई आक्रमणबीच युक्रेनमा मानवअधिकारको अवस्था अत्यन्तै गम्भीर रहेको पनि बताइन्।

शुक्रबार प्रकाशित युक्रेनमाथिको छानबिन आयोगको नयाँ प्रतिवेदनले रुस र युक्रेनमा रुसी अधिकारीले सर्वसाधारणमाथि गरेको उत्पीडनबारे विगतमा खुलासा गरेको र उत्पीडन निकै ठूलो मात्रामा भएको पुष्टि गरेको उनको भनाइ छ। 

हिरासतमा रहेका बेला उनीहरूमाथि अत्यन्तै गम्भीर, पीडादायी र पीडादायी कारबाही गरिएको पीडितको भनाइले देखाएको राष्ट्रसंघका अधिकारीले बताएका छन्।