रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकमबाट हतियार किन्दै ईयू

ईयूका सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम युक्रेनका लागि हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

युरोपेली संघ (ईयू)का सदस्य राष्ट्रहरूले रुसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकमबाट हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन्।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोर्दै जर्मनीका चान्सलर ओलाफ सोल्ज भने, “हामीले युरोपमा रोक्का रुसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि युक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ।”

उनका अनुसार ईयूले अहिले रुसविरुद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४औँ प्याकेजमा काम गरिरहेको छ। “हामी पहिले नै प्रतिबन्धको १४औँ प्याकेजमा काम गरिरहेका छौँ। यसमा युक्रेनमा रुसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन्,” उनले भने। यद्यपि उनले प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने विषयमा जवाफ दिन अस्वीकार गरे।

सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि ईयूले रुसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ। फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३औँ भएको रुसी समाचार संस्था तासले जनाएको छ।

रुसी आक्रमणविरुद्ध युक्रेनी सेनाले संघर्ष गरिरहेका छन्। युक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै युक्रेनको जितका लागि आवश्यक पर्ने सबै कुरामा सहयोग गर्ने ईयूले धारणा व्यक्त गरेको छ। ईयूले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब युरो अर्थात् पाँच अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीबार गरेको छ।

“ईयू सदस्य राष्ट्रका सरकारका प्रतिनिधिहरू सहमत भएका छौँ,” ईयूका विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च अधिकारी जोसेप बोरेलले भने, “यो कोषले हामीलाई थप पाँच अर्ब युरो (५.४८ अमेरिकी डलर) सैन्य सहयोग बढाउन अनुमति दिनेछ। सन्देश स्पष्ट छ। हामी विजय प्राप्त गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनेछौँ।”

ईयूका २७ सदस्य राष्ट्रका राजदूतहरूले युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको फेरबदलका लागि बुधबार ब्रसेल्समा भएको बैठकमा सहमति जनाएका थिए।