भारतमा लोकसभा निर्वाचन १९ अप्रिलदेखि, ७ चरणमा मतदान हुने

भारतमा लोकसभाको निर्वाचन अप्रिल १९ देखि हुने भएको छ। सात चरणमा हुने निर्वाचनको मतगणना जुन ४ मा हुनेछ।

भारतमा आउँदो अप्रिल १९ देखि लोकसभाको निर्वाचन हुने भएको छ। भारतको केन्द्रीय निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले शनिबार लोकसभा निर्वाचनको मिति घोषणा गरेका हुन्।

बीबीसी हिन्दीका अनुसार आयोगले निर्वाचनको मिति घोषणा गरेसँगै १८औँ लोकसभाको गठन प्रक्रिया शुरू भएको हो। १७औँ लोकसभाको कार्यकाल २०२४ जुन १६ मा सकिँदै थियो।

आयुक्त राजीव कुमारका अनुसार ५४३ सिटका लागि सात चरणमा मतदान हुनेछ। पहिलो चरणको मतदान अप्रिल १९ र अन्तिम चरणको मतदान जुन १ मा हुनेछ भने मतगणना जुन ४ मा हुनेछ। मतदानदेखि नतिजा आउँदासम्म ४६ दिन लाग्नेछ।

पहिलो चरण २१ राज्यमा १०२ सिटका लागि चुनाव हुनेछ। दोस्रो चरण १३ राज्यमा ८९ सिटका लागि, तेस्रो चरण १२ राज्यमा ९४ सिटका लागि, चौथो चरण १० राज्यमा ९६ सिटका लागि, पाँचौँ चरण आठ राज्यमा ४९ सिटका लागि, छैटौँ चरण सात राज्यमा ५७ सिटका लागि र सातौँ चरण आठ राज्यमा ५७ सिटका लागि चुनाव हुने बीबीसी हिन्दीले उल्लेख गरेको छ।

लोकसभासँगै चार राज्य आन्ध्र प्रदेश, ओढिसा, अरुणाचल प्रदेश र सिक्किमको विधानसभा चुनावको मिति पनि सार्वजनिक गरिएको छ।

भारतको आसन्न निर्वाचनमा १० लाख ५० हजार मतदान केन्द्रबाट ९७ करोड मतदाताले मतदान गर्ने छन्। यसैगरी यसपटक ५५ लाख ईभीएम प्रयोग हुनेछन्।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले हिमालयदेखि समुद्र र मरुभूमिदेखि उत्तर–पूर्वीसम्मका बुथमा समान सुविधा हुने बताए।

८५ वर्षभन्दा माथिका तथा अपांगता भएका मतदातालाई घरमै बसेर मतदान गर्नका लागि फारम पठाइनेछ। उनीहरू बुथमा आएको खण्डमा आयोगका स्वयंसेवकले सहयोग गर्ने व्यवस्था मिलाइएको जनाइको छ।

आयोगका अनुसार निर्वाचनका बेला बुथमा पर्चा तथा पमप्लेट प्रयोग गर्न पाइने छैन। चुनावी काममा करार कर्मचारी या स्वयंसेवक खटाउन पाइने छैन। मतदातालाई उम्मेदवारका बारेमा एपमार्फत जानकारी गराइने छ।

लोकसभाको निर्वाचनमार्फत भारतीय जनता पार्टी (भाजपा)का तर्फबाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि सत्तामा आउने प्रयासमा छन्। कांग्रेस आईलगायतका दलले अहिलेसम्म प्रधानमन्त्रीका रूपमा कसैलाई अघि सारेका छैनन्।