रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।

फाइल तस्वीर

रुकुम पश्चिम– गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन्।

भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ। सो अवधिमा जिल्लाभर २९ हजार ७६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए। उनका अनुसार जिल्लाभर दुई हजार १९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन्। 

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ९६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए।

चौरजहारी नगरपालिकामा ६ हजार ६६८, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणीमा चार हजार ३३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार ९९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले जानकारी दिए। 

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ३०० लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा २५ हजारका दरले ७८ करोड २५ लाख रुपैयाँ रकम पठाइएको छ। 

स्थानीय विपद् कोषबाट भने ३० हजार ८४१ लाभग्राहीले २५ हजारका दरले ७७ करोड १० लाख २५ हजार रुपैयाँ रकम प्राप्त गरेका छन्। अब जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ।