एनआरटीले जित्यो बुढासुब्बा गोल्डकपको उपाधि

फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो।

विराटनगर– सुनसरीको धरानमा सम्पन्न २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबलको उपाधि न्युरोड टिम (एनआरटी)ले जितेको छ। एनआरटीले १६ वर्षपछि दोस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो। एनआरटीले यसअघि उसले १०औँ संस्करणको उपाधि जितेको थियो।

धरान रंगशालामा शनिबार सम्पन्न प्रतियोगिताको फाइनलमा मोरङ फुटबल संघलाई २–१ गोल अन्तरले पराजित गर्दै एनआरटी च्याम्पियन बनेको हो। काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले हराउँदै एनआरटीले फाइनलमा पुगेको थियो।मोरङले आयोजक धरान फुटबल क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

शनिबारको खेलको सातौँ मिनटमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। उनले रोशन रानाको पासमा गोल गरेका थिए।

पहिलो हाफको अन्त्यतिर ४४औँ मिनेटमा मोरङका उमेश कार्कीले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै आफ्नो टिमलाई विजयी बनाए।

प्रतियोगिताको विजेता टोली एनआरटीले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मोरङले पाँच लाख रुपैयाँ पुरस्कार पाएको छ। शनिबारको खेलको म्यान अफ दी म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे। प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै एनआरटीका सनम लिम्बूले २ लाख रुपैयाँ पुरस्कार पाए।

बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पूजन होना, उत्कृष्ट प्रशिक्षक एनआरटीका जीवन सिन्खेमना घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। 

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते शुरू भएको प्रतियोगितामा चर्च ब्वाइज, नेपाल पुलिस, आयोजक टिम, एनआरटी, त्रिभुवन आर्मी, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल संघ मोरङ, भारतीय क्लब युके एफसीले सहभागिता जनाएका थिए।