सर्लाही-४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी

स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह सर्लाही-४ बाट निर्वाचित भएका छन्। उनले कांग्रेसका नागेन्द्रकुमार रायले भन्दा १७ सयभन्दा बढी मत ल्याएका छन्।

काठमाडौँ– सर्लाही-४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। सिंह १ हजार ७६५ मतान्तरले निर्वाचित भएका हुन्।

बिहीबार सकिएको मतगणनामा उनले २० हजार १७ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेन्द्रकुमार रायले १८ हजार २५२ मत पाए। त्यसैगरी, अर्का स्वतन्त्र उम्मेदवार मधुमाला राय यादवले १४ हजार ६२२ मत पाइन्।

कांग्रेसबाट रायले टिकट पाएपछि सिंहले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७४ सालको निर्वाचनमा पनि सिंह यसै क्षेत्रबाट निर्वाचित भएका थिए। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएर सिंहले २९ हजार ६७५ मत ल्याई राष्ट्रिय जनता पार्टी (राजपा)का उम्मेदवार राकेशकुमार मिश्रलाई पराजित गरेका थिए।