वसन्तपुरमा ठड्याइयो चीर, शुरू भयो रङको पर्व होली

काठमाडौँको वसन्तपुरमा रंगीचंगी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ। यससँगै रंगहरूको पर्व होली शुरू भएको छ।

काठमाडौँ– फागु पर्व विधिवत् रूपमा शुरू भएको छ।

फागुन शुक्ल अष्टमीको दिन पारेर काठमाडौँ तँलाछीका धालासिक्व मानन्धर समूदायले वसन्तपुरमा तीनतले चीर ठड्याएपछि फागु पर्व शुरू भएको मानिन्छ।

आइतबार बिहान ७:४७ बजेको शुभसाइतमा मौलिक बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको भालुबाँसको चीर उठाइएको थियो। चीर ठड्याएसँगै उनीहरूले एकअर्कालाई अबिर दलेर होली शुरू भएको जनाउ दिएका छन्।

फागुको चीर धालासिक्व मानन्धर सनाः गू खल समाजले ठड्याउँदै आएको समाजका महासचिव गजेनप्रसाद मानन्धरले जानकारी दिए। चीर बनाउँदा नितान्त जुटको धागो प्रयोग गरिन्छ। त्यसमा कोरा कपडाले बेरेर रंगीचंगी ध्वजापताका उनेर ठड्याइन्छ। 

यस वर्ष काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा चैत ११ गते होली खेलेर फागु पर्व मनाइँदै छ। तराईमा भने होली चैत १२ गते परेको छ।