सीआईबीले थाल्यो सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन

पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको उच्चस्तरीय छानबिन आयोगले चैत १ गते गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो।

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझेर अध्ययन थालेको छ। 

आइतबार बिहान मन्त्रालयमा गृहमन्त्री रवि लामिछानेले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहित सीआईबीका निर्देशक एआईजी श्यामलाल ज्ञवालीलाई हस्तान्तरण गरेका थिए। पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा गठन भएको आयोगले चैत १ गते प्रतिवेदन बुझाएको थियो। उक्त प्रतिवेदन गृहमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि बुझाइसकेका छन्। 

आइतबार प्रतिवेदन बुझेको सीआईबीले त्यसको अध्ययन थालेको छ। “फाइल अध्ययन गरेर त्यसपछि कारबाहीको प्रक्रिया अघि बढ्छ,” सीआईबी निर्देशक, एआईजी श्याम ज्ञवालीले उकालोसँग भने, “त्यो अध्ययन गरेपछि मात्र क–कसलाई कारबाही गर्ने भन्ने प्रक्रिया अघि बढ्छ।” 

आयोगले प्रतिवेदन बुझाए लगत्तै यसमा राजनीतिक नेतृत्व, सीआईबीका अधिकारीदेखि कर्मचारीसम्मको संलग्नता देखिएको र कारबाही सिफारिस भएको सार्वजनिक भएका छन्। तर, प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक भने भइसकेको छैन। 

गत साउन २ र गत वर्ष पुस १० मा भेपमार्फत् आएको सुन तस्करीलगायत विषयमा छानबिन गर्न उच्चस्तरीय आयोग गठन भएको थियो।