नेपाल औषधि लिमिटेडले थप ३ औषधि उत्पादन गर्दै

नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ।

काठमाडौँ– नेपाल औषधि लिमिटेडले आइतबारदेखि थप तीन प्रकारका औषधि उत्पादन शुरू गरेको छ। लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले आइतबारदेखि सेन्ट्रिमाइन, एमजीट र एमजीट–डीएफ नामका औषधि उत्पादन शुरू गरेको जानकारी दिए। 

तीनै वटा औषधि ट्याबेलटमा छन्। एउटा औषधि दैनिक डेढ लाख ट्याबलेट उत्पादन गर्ने उनको भनाइ छ। यसअघि लिमिटेडले जीवनजल, सिटामोल, फोलिक एसिड, हेमाडायलासिसका दुई प्रकार (झोल र प्याकेटमा), ग्लिसिरिन, डिस्ट्रिल वाटर र स्यानिटाइजरलगायत उत्पादन गरिरहेको थियो। 

“सरकारले आर्थिक सहयोग गरेको खण्डमा हामी थप औषधि पनि उत्पादन गर्न सक्छौँ,” उनले भने। महाप्रबन्धक पनेरुले सरकारले २० प्रकारका औषधि उत्पादनका लागि २४ करोड रुपैयाँ बजेट विनियोजन गर्ने भने पनि सो बजेट प्राप्त नहुँदा औषधि उत्पादनमा समस्या भएको बताए।

विसं. २०२९ मा स्थापना भएको लिमिटेडले कुनै समय १२० प्रकारका औषधि उत्पादन गर्दथ्यो। तर २०६२ सालमा उत्पादन बन्द भएपछि २०७४ सालमा पुनः सिटामोल उत्पादन गरी लिमिटेड सञ्चालनमा ल्याइएको हो। हाल आइतबारदेखि शुरू तीन प्रकारका सहित लिमिटेडबाट उत्पादन हुने औषधिको संख्या ११ पुगेको छ।