चित्र कोरेर गुजारा चलाउँदै तुलसीराम

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।

कञ्चनपुर– कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडाका ५५ वर्षीय तुलसीराम चौधरीले चित्र कोर्न थालेको दशकौँ भइसक्यो। कक्षा २ मा अध्ययन गर्ने बेलादेखि चित्रकलाका सौखिन उनले यही सीपलाई जीविकोपार्जनको आधार बनाएका हुन्।

आफूले व्यावसायिक रूपमा चित्र कोर्न तथा भित्तेलेखन शुरू गरेको दुई दशक बढी समय भएको उनले सुनाए। “विद्यालयमा छँदा गृहकार्य गर्न छोडेर चित्र बनाउँथे। रातमा टुकी बालेर भारतीय अभिनेता गोविन्दा, सञ्जयदत्तको चित्र बनाएर दाइलाई देखाउँथे,” उनले भने, “चित्रकलाप्रति सानैदेखि इच्छा भएकाले यसतर्फ आकर्षित भएँ।”

तुलसीरामले चित्र बनाउनका लागि कुनै तालिम भने लिएका छैनन्। विद्यालयमा चित्रकला प्रतियोगितामा प्रथम भएपछि यसप्रति झनै लगाव बढेको उनले बताए।

“सगरमाथामा नेपालको झन्डा फहराएको चित्र बनाएको थिएँ। देशको पहिचान झल्काएको भन्दै शिक्षक धेरै प्रशंसा गर्नुभयो,” विद्यालयमा छँदाको अनुभव सम्झँदै उनले भने, “त्यसबेला मलाई सगरमाथा विश्वकै अग्लो शिखरको भन्ने थाहै थिएन। दिमागमा त्यस्तै फुर्‍यो, बनाएँ।”

उनी चित्र कोर्ने कामका साथै खेतीकिसानीमा पनि संलग्न छन्। बेलौरी नगरपालिका–२ बैजुडाँडामा डेढ बिघा जमिनमा खेती गरिरहेको तुलसीरामले बताए। “फुर्सदको समयमा खेतीपाती गरिन्छ। चित्र तथा लेखनको काम आएपछि त्यो पनि छोडिँदैन,” उनले भने, “विगतभन्दा अहिले नयाँ प्रविधि आउनाले हस्तकलाको काम कम पाइन्छ।”

उनका अनुसार विगतमा मासिक ५० हजारभन्दा बढी कमाउन सकिन्थ्यो। प्रविधिको बढ्दो प्रयोगले हस्तकला हराउँदै गएको उनले बताए। विगतको तुलना काम कम पाइने भए पनि हाल दैनिक एक हजार रुपैयाँसम्म आम्दानी भइरहेको उनको भनाइ छ। 

“विगतमा सरकारी कार्यालय, पसल सबैतिर हातैले लेख्थे। अहिले डिजिटल मेसिन आइसके। विगतको भन्दा काम कम पाइन्छ,” उनले भने, “त्यहीँ पनि दिनहुँ एक हजार रुपैयाँभन्दा बढी आम्दानी हुने गर्छ।”

भित्तेलेखन तथा चित्र कोरेबापत प्रतिवर्ग फिट ३०० रुपैयाँदेखि ५०० रुपैयाँसम्म शुल्क लिने गरिएको छ। तुलसीराम भारत्तोलनको खेलाडी पनि हुन्। विसं २०४६ मा क्षेत्रीय प्रतियोगितामा भारत्तोलनमा प्रथम र राष्ट्रिय प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको उनले बताए। 

तुलसीरामको बेलौरी नगरपालिका–२ बैजुडाँडामा श्रीमती र छोरा बस्छन्। “दाइ–छोरीहरू पनि राम्रो चित्र बनाउँछन्। अन्य पेसामा हुँदा उहाँहरूले व्यावसायिकता दिन पाउनुभएको छैन,” उनले भने, “चित्र कोरेर र भित्तेलेखन गरेर गुजारा चलेको छ। कामको खोजीमा बिदेसिनुपरेको छैन। यसमै खुशी छुँ।”