ऐतिहासिक एआई कानूनलाई युरोपेली संसदमा ‘ग्रिन सिग्नल’

तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको यस एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी युरोपेली संघले निर्माण गरेको कानून यसै वर्षको अन्तिमदेखि लागू हुनेछ। तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।

युरोपेली संघका सांसदहरूले गएको बुधबार एआईसम्बन्धी ऐतिहासिक कानूनलाई अन्तिम स्वीकृति दिएका थिए। योसँगै युरोपेली राष्ट्रहरूमा एआई नियम लागू हुनेमा 'ग्रिन सिग्नल' मिलेको हो। स्ट्रासब्रुगस्थित युरोपेली संसदमा उक्त एआई अधिनियम ४६ विरुद्ध ५२३ भोटले पारित भएको थियो। यस नयाँ कानूनले युरोपेली संघका २७ देशका नागरिकलाई तीव्र गतिमा प्रयोग भइरहेको एआईले निम्त्याउन सक्ने सम्भावित जोखिमबाट बचाउने अपेक्षा गरिएको छ। साथै यसले नयाँ आविष्कारलाई पनि बढावा दिनेछ।

युरोपेली संसदका अध्यक्ष रोबर्टा मेतसोलाले अधिनियमलाई पारित गर्दै भने, “युरोपेली संघको लोकतान्त्रिक मूल्यमा आधारित हाम्रो यस ऐतिहासिक एआई कानूनले डिजिटल तथा प्राविधक क्षेत्रमा हामीलाई दुनियाँमा अग्रणी बनाउनेछ।”

युरोपेली संसदका उद्योग मामिला प्रमुख थियरी ब्रेटनले संसदको उक्त समर्थनको स्वागत गर्दै भने, “युरोप अब विश्वसनीय एआई प्रणालीलमा विश्वव्यापी मानक बनेको छ।”

के व्यवस्था छ यस कानूनमा?
यस नयाँ कानूनमा जोखिमको आधारमा अलग अलग प्रकारका एआईको श्रेणी बनाइएको छ। बढी खतरा ठानिएका एआई टुलको प्रयोगका लागि कडा नियम वा प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको छ। तर अहिलेसम्मका अधिकांश एआई प्रणाली कम जोखिम भएका श्रेणीमा पर्ने बताइएको छ। जस्तो- कन्टेन्को सिफारिस वा स्पामलाई फिल्टर गर्नको लागि प्रयोग हुने एआई मोडललाई यस श्रेणीमा राखिएको छ।

यस्तै, बढी जोखिमपूर्ण श्रेणीमा चिकित्सा तथा उर्जा नेटवर्कजस्ता अति गम्भीर विषयसँग जोडिएका एआई टुललाई राखिएको छ। नियमअनुसार यस्ता एआई मोडेल तयार गर्ने कम्पनीहरूलाई अब जोखिमको आँकलन गर्नुपर्ने हुन्छ। साथै प्रयोगकर्तालाई प्रष्ट जानकारी प्रदान गर्नुपर्ने हुन्छ। एआई टुल सार्वजनिक गर्नुपूर्व नै उक्त टुलले सबै मापदण्ड पालना गरेको प्रमाणित हुनुपर्ने छ।

एल्गोरिदमको लागि प्रयोग हुने कम्पनी डाटालाई पनि विशेष मापदण्ड तथा पारदर्शिता जस्ता मानकमा खरो उत्रिनुपर्ने हुन्छ। सार्वजनिक स्थानमा अनुहारको वास्तविक समय पहिचान (रियल टाइम आइडेन्टिफाइङ)मा रोक लगाइनेछ। 

कुनै व्यक्तिविशेष धर्म, जाति तथा यौन आकर्षणको आँकलन गर्नको लागि बायोमेट्रिक सूचनाको प्रयोग गर्ने एआई प्रणालीमाथि पनि पूर्ण प्रतिबन्ध लगाइनेछ। भविष्यवाणी गर्नेसम्बन्धित एआईमाथि पनि रोक लगाइनेछ। कानून उल्लंघन गरेको पाइएमा एआई कम्पनीलाई ७५ लाखदेखि साढे तीन करोड युरो जरिबाना निर्धारण गरिएको छ।

यो कानूनलाई युरोपेली संघका प्रत्येक सदस्य देशले आफ्नो देशको संसद्‍बाटै अनुमोदन गर्नुपर्ने हुन्छ। अप्रिलसम्म सबै सदस्य राष्ट्रले अनुमोदन गर्ने आशा गरिएको छ। सबै प्रक्रिया सकेर यो वर्षको अन्तिमसम्म यो कानून लागू हुने बताइएको छ।

कानून लागू भएको ६ महिनापछि निषेध गरिएका एआई प्रणालीमाथि पूर्ण प्रतिबन्ध लगाइनेछ। १२ महिनापछि च्याटजीपीटी जस्ता जेनेरेटिव एआई मोडलसँग सम्बन्धित नियम यस कानून मातहत आउनेछन्। दुई वर्षभित्र कम्पनीले सबै प्रावधानको पालना गर्नुपर्नेछ। –डीडब्ल्यू