टेलिकमका कर्मचारीको ठेकेदार कम्पनी, आयोगद्वारा मुद्दा दायर

ती कर्मचारीले टेलिकमको कार्यालयमा हाजिर गरेर आफ्नो निर्माण कम्पनीमा समेत काम गर्ने गरेको आयोगले जनाएको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिमकमा कार्यरत स्थायी कर्मचारी इन्जिनियर निर्मलप्रसाद सिटौलाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

कार्यालयमा हाजिर गरी छुट्टै हिमदुङ एन्ड थोकर कन्स्ट्रक्सन कम्पनीमा समेत कार्य गरी व्यापार–व्यवसाय गरेको र सूर्यविनायक धुलिखेल सिन्धुली बर्दिवास सडक आयोजनाको ठेक्का लिई प्रतिनिधिका रूपमा काम गरेको पाइएको छ। सो ठेकेदार कम्पनीको प्रतिनिधिका रूपमा हस्ताक्षर गरेको पाइएको छ। सो कार्य कानूनविपरीतको कार्य तथा भ्रष्टाचार भएको आयोगले ठहर गरेको छ।

सिटौलाले हिदुङ एन्ड थोकर कम्पनीबाट ४५ लाख १७ हजार ५०० रुपैयाँ पारिश्रमिक लिएको तथा मुनाफाबाट एक करोड १६ लाख दुई हजार ५०४ रुपैयाँ बराबरको भ्रष्टाचार गरेको पाइएको छ। आयोगले बिगोबमोजिमको कारबाहीको माग गर्दै गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने माग दाबीसहित मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।