प्रेमप्रस्ताव अस्वीकार गरेपछि सुष्माको हत्या : प्रहरी

रूपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक–पटक प्रेमप्रस्ताव राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। 

काठमाडौँ– काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ तारेभीरस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा खाल्डो खनेर पुरेको अवस्थामा मृत फेला परेकी १८ वर्षीया सुष्मा लामाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ। 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्यामा संलग्न रहेको अभियोगमा गोकर्णेश्वर–३  बस्ने २१ वर्षीय रूपेन्द्र लामालाई शुक्रबार राति पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

कक्षा १२ मा अध्ययनरत सुष्मालाई हत्या गरेर गाडेको अवस्थामा गत फागुन २५ गते प्रहरीले शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभिरबाट शव उत्खनन गरेको र शव फेला परेको सम्बन्धमा अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोली खटिएको थियो।

अभियुक्तको पहिचान तथा खोजतलास गरी नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त बौद्ध पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार प्रेमप्रस्ताव अस्वीकार गरेपछि आरोपीले सुष्माको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बुढानीलकण्ठस्थित बुढानीलकण्ठ माविमा अध्ययन गर्ने सुष्मालाई पछाडिको भागबाट घाँटीमा अँठ्याएपछि पनि रूपेन्द्रले प्रेमप्रस्ताव गरेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक डीएसपी अनिल घिमिरेले बताए।

उनका अनुसार सुष्माले प्रयोग गर्ने मोबाइल नम्बरबाट रूपेन्द्रकी दिदी नाता पर्ने बिन्दा तामाङले प्रयोग गर्ने नम्बरमा विभिन्न म्यासेज गरेको खुलेको छ। गोकर्णेश्वर–३ स्थित जंगलमा (मृतकको घरबाट करिब एक किमी टाढा, स्कुल जाने बाटोबाट करिब १० मिटर तल) दुई हात मात्र देखिएको शरीरको अन्य भाग पुरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ।

प्रहरीले दिएको जानकारी अनुसार रूपेन्द्रले सुष्मालाई विगत आठ महिनादेखि मन पराउँदै आएको र दुवै जना घाँस काट्न, बाख्रा चराउन जंगलमा विगत १/२ वर्षदेखिसँगै जाने आउने गरेका थिए। दुवैबीच फोनसम्पर्क एवं कुनै पनि सामाजिक सञ्जालमा कुराकानी नहुने गरेको र भेटका बेला मात्र कुराकानी हुने गरेको खुलेको छ।

रूपेन्द्रले सुष्मालाई एकतर्फी माया गर्ने गरेको र पटक–पटक प्रेमप्रस्ताव राखेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। तर सुष्माले अस्वीकार गरेपछि रूपेन्द्रले आठ दिनसम्म सुष्मालाई बाटोमा ढुकेर बसेको भन्ने बुझिन आएको प्रहरीले जनाएको छ।

सुष्माले इन्कार गरेपछि रूपेन्द्रले पछाडिबाट उनको घाँटी थिची अचेत बनाई टाई र जुत्ताको तुनाले घाँटीमा कसेका थिए। त्यसपछि उनले सुष्माको शवलाई खाल्डो खनी पुरेको प्रहरीले जनाएको छ।