नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठको केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडान छ।
सुदूरपश्चिम– नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन यथावत् राख्ने निर्णय गरेको छ।
धनगढीमा आइतबार बसेको संसदीय दलको बैठकले प्रदेश सरकारमा आफूहरू पनि सहभागी रहेकाले समर्थन यथावत् राख्ने निर्णय भएको बैठकपछि सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरीले जानकारी दिए।
“अहिलेकै सरकारलाई विश्वासको मत दिन्छौँ, संसदीय दलको निर्णय फिर्ता हुँदैन,” उनले भने। पत्रकारको प्रश्नमा उनले केन्द्रमा एउटा गठबन्धन र प्रदेश तहमा त्यस विपरीतको अर्कै गठबन्धनलाई सहयोग गर्ने विषय नेपालमा नयाँ अभ्यास हुनसक्ने बताए।
अर्को प्रसंगमा उनले नागरिक उन्मुक्ति जनताका लागि जन्मिएको पार्टी भएकाले जनभावनाअनुसार जाने र केन्द्रमा पार्टीका संरक्षक र पार्टीका अध्यक्षबीच भएको भनिएको मतभेदले पार्टी नफुट्ने दाबी गरे।
प्रदेशसभामा चौथो ठूलो शक्ति सो पार्टीका सुदूरपश्चिम प्रदेशसभामा सात सदस्य छन्। संसदीय दलको बैठकमा दुई जना अनुपस्थित रहेका थिए। काठमाडौँमा रहेका दुई जना स्वास्थ्यका कारण आइतबारको बैठकमा उपस्थित हुन नसकेको नेता चौधरीले जानकारी दिए।
प्रदेशमा सरकार गठनका लागि निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको बैठकको निर्णयसँगै प्रदेशमा नयाँ फेरिएको गठबन्धन दललाई सरकार गठन गर्न तत्काल कठिन देखिएको छ।
नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाहलाई पनि बहुमत कायम राख्नुपर्ने चुनौती यथावत् छ। फेरिएको नयाँ गठबन्धनमा सहभागी नेकपा एमालेका १०, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ र नेकपा एकीकृत समाजवादीका चार प्रदेशसभा सदस्यले मात्र सरकार गठनमा बहुमत पुग्दैन। प्रदेशसभा नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक र एक स्वतन्त्र सदस्य छन्। एक पद रिक्त छ।
कुल ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ सदस्यको समर्थन चाहिन्छ। नयाँ गठबन्धनलाई बहुमत पुर्याउन सभामुखबाहेक थप तीन सदस्य अपुग देखिएको छ। नागरिक उन्मुक्तिकै सहयोग रहे पनि मुख्यमन्त्रीको पक्षमा बहुमत पुग्दैन। प्रदेशसभाको यस्तो गणितमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राप्रपा एक र स्वतन्त्र एक सदस्यले मत दिएमा मात्रै मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त हुन्छ। स्वतन्त्र र राप्रपाका सदस्यले मुख्यमन्त्रीलाई समर्थन गर्ने आश्वासन दिएको दाबी गरिएको छ।
नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरी प्रदेश सरकारलाई समर्थन कायम राख्नुपर्ने पक्षमा छन् भने अध्यक्ष रञ्जिता श्रेष्ठ केन्द्रमा बनेको नयाँ गठबन्धनमै सहभागी हुनुपर्ने अडानमा रहेको बताइन्छ। संघीय सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा पनि दुई जनाबीच एकमत हुन सकेको थिएन। अध्यक्ष एवं सांसद श्रेष्ठसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पक्षमा विश्वासको मत प्रदान गरेका थिए।
पार्टीका अध्यक्ष श्रेष्ठले प्रदेश सरकारबाट तत्काल बाहिरिन सुदूरपश्चिम प्रदेशको संसदीय दललाई निर्देशन दिएकी थिइन्। तर प्रदेशसभामा संरक्षक पक्षधर सदस्यको बहुमत हुँदा अहिलेसम्म अध्यक्षको निर्देशन पालना भएको छैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
