रुसमा पुटिनको सरकार कायमै रहने, राष्ट्रपतिको चुनावमा झण्डै ८८ प्रतिशत मतले विजयी

पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।

रुसको राष्ट्रपति चुनावमा भ्लादिमिर पुटिनले करिब ८८ प्रतिशत मत ल्याएर आफ्नो कार्यकाललाई निरन्तरता दिएका छन्।

समाचार एजेन्सी रोयटर्सले जनाएअनुसार आइतबार मतदान सकिएपछि पहिलो आधिकारिक नतिजा अनुसार पुटिनले रुसको राष्ट्रपतीय निर्वाचनमा ८७.९७ मत ल्याएर विजयी भएका हुन्। यद्यपि औपचारिक घोषणा भने हुन बाँकी छ।

शुक्रबारदेखि शुरू भएको तीनदिने निर्वाचन अत्यन्तै नियन्त्रणपूर्ण वातावरणमा सम्पन्न भएको थियो। यो जितसँगै राष्ट्रपतिका रूपमा उनको यो पाँचौं कार्यकाल हुनेछ। ७१ वर्षीय भ्लादिमिर पुटिन सन् १९९९ देखि रुसमा राष्ट्रपतिका रूपमा सत्तामा छन्।

अस्वस्थ्यताका कारण बोरिस येल्तसिनले सन् १९९९ मा रुसको सत्ताको नेतृत्व पुटिनलाई सुम्पेका थिए। त्यसयता उनले कुनै पनि चुनाव हारेका छैनन्।

बीबीसीका अनुसार वास्तवमा कुनै पनि विश्वसनीय विपक्षी नेतालाई राष्ट्रपतिको उम्मेदवारमा उभिन दिइएको थिएन। पुटिनका कट्टर राजनीतिक प्रतिद्वन्द्वी एलेक्सी नाभाल्नीको गत महिना आर्कटिक जेलमा 'रहस्यमयी' ढंगले मृत्यु भएको थियो। चुनावमा नाभाल्नीका समर्थकहरूले प्रतीकात्मक प्रदर्शन गरेका थिए। पुटिनका अन्य आलोचकहरू या त जेल या निर्वासनमा छन्।

यसपटकको चुनावमा उनको प्रतिद्वन्दीका रूमा तीन जना उभिएका थिए। ती तीनै जना पुटिन सत्ताका ‘अदृश्य समर्थक’ मानिन्छन्। उनीहरू युक्रेनमाथि रुसको आक्रमणका समर्थक पनि हुन्। पुटिनले आफूविरुद्ध सधैँ प्रतीकात्मक उम्मेदवार मात्र उभ्याउने गरेको बताइन्छ। पश्चिमाले यी उम्मेदवारलाई ‘रबर स्ट्याम्प’ भन्ने गरेका छन्।

यो जितसँगै पुटिनले रुसको लोकतन्त्र धेरै पश्चिमी देशको भन्दा पारदर्शी रहेको दाबी गरेका छन्। पश्चिमी देशहरूले भने रुसको राष्ट्रपति चुनाव स्वतन्त्र वा पारदर्शी नभएको बताएका छन्। जर्मनीले यसलाई एक अधिनायकवादी नेताको नेतृत्वमा गरिएको ‘नक्कली चुनाव’ भनेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले, ‘रुसी तानाशाहले अर्को चुनाव गराउँदैछ’ भन्दै व्यंग्य गरेका थिए।

युक्रेन युद्धकाबीच पुटिनको यो जितलाई अन्तर्राष्ट्रिय स्तरमा गम्भीरताका साथ हेरिएको छ। लगातातर चुनाव जित्दै आएका पुटिन अब सन् २०३० सम्म सत्तामा रहनेछन्। जोसेफ स्टालिनपछि पुटिन रुसमा सबैभन्दा लामो समय सत्तामा रहने नेता भएका छन्।