आगलागीका कारण बन्द भएको कर्णाली पुल खुल्यो

गत सोमबार पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा आगो लागेपछि त्यसले पुलका १४ वटा लट्ठामा केही क्षति पुगेको थियो।

फाइल तस्वीर/कर्णाली पुलमा आगलागी भएपछि दमकलको सहायताले आगो निभाइँदै

काठमाडाैँ– आगलागीका कारण बन्द भएको कर्णालीको पुल सोमबारदेखि खुलेको छ। आगलागीबाट भएको क्षतिको परीक्षणपछि पुल खुलेको हो।

नेपालगञ्जस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर नीरज शाक्यले भने,– “पुलको अवस्थाका बारेमा हामीले स्थलगत परीक्षणपछि विज्ञसँग छलफल गर्दा त्यसबाट आवागमन गर्न कुनै समस्या नहुने भएकाले आजदेखि यातायातका साधन सञ्चालनको अनुमति दिएका छौँ।”

गत सोमबार पुलमा आगो लागेको थियो। पुलमा गुडिरहेको लाइटर बोकेको ट्रकमा लागेको आगो पुलका १४ वटा सहारा लट्ठामा  लाग्दा केही क्षति भएको थियो। विज्ञ टोलीले पुलको स्थलगत निरीक्षण गरेको थियो।