एकीकृत समाजवादी त्यागेका दीपक मनाङे बने भौतिक पूर्वाधारमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्ति गरेका छन्।

गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए।

गुरुङले आइतबार मात्रै नेकपा एकीकृत समाजवादीसँगको दलीय आबद्धता परित्याग गरी स्वतन्त्र हैसियतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए।

पुनर्गठित मन्त्रिपरिषद्मा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको थप जिम्मेवारी दिइएको सापकोटाले जानकारी दिए।

मन्त्रिपरिषद् पुनर्गठनसम्बन्धी पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएकाले नवनियुक्त मन्त्रीको शपथ गराउने तयारी भइरहेको उनले जानकारी दिए।

यसअघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीमा नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली र सामाजिक विकासमन्त्रीमा सुशीला सिम्खडा मन्त्री रहेका थिए।