अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस

ऊर्जामन्त्री बस्नेतले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।

काठमाडौँ– सरकारले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस गरेको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसद्मा पेस गरेका हुन्।

मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २२५ बमोजिम आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभासमक्ष पेस गरेका हुन्। उनले नेपाललाई पनि फाइदा हुनसक्ने देखेर उक्त सम्झौतामा हस्ताक्षर गरेर अनुमोदनका लागि संसद्मा पेस गरिएको बताए।

“सौर्य ऊर्जा प्रविधिहरूको प्रयोग गरी सदस्य राष्ट्रहरूमा ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासको रूपमा स्थापित आईएसएसँग सम्बन्धी करार सम्झौता भएको र यसबाट नेपाललाई पनि फाइदा पुग्ने भएकाले नेपालले हस्ताक्षर समेत गरिसकेकाले यसको अनुमोदन गर्न संसद्मा पेस गर्दछु,” उनले भने।

उनले आईएसएको स्थापनासँग सम्बन्धित सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेस गर्ने प्रयोजनका लागि मन्त्रिपरिषद्बाट गत वैशाख १९ मा स्वीकृत भएको उल्लेख गरे।