तटबन्ध निर्माण गर्दा भ्रष्टाचार, हरिपुरका तत्कालीन उपप्रमुखसहित १० जनाविरुद्ध मुद्दा

लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको भन्दै अख्तियारले हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन उपप्रमुख रेणुकादेवी काफ्लेसहित १० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विभागले सोमबार उपप्रमुख काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेललगायतविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

विभागका अनुसार उनीहरूले स्थानीय लखनदेही खोलामा तटबन्ध निर्माण नै नगरी आर्थिक अनियमितता गरेको पाइएको छ। नदी नियन्त्रणका लागि माटो पुर्ने काममा भ्रष्टाचार भएको पाइएको छ।

आयोगले हरिपुर नगरपालिका नगर कार्यपालिका कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय नइन्द्रकुमार पौडेल, इन्जिनियर रञ्जित साह र सब–इन्जिनियर सञ्जीव चौधरीविरुद्ध ८५ लाख १८ हजार ६३१ बराबरको बिगो दाबी गरिएको छ।

आयोगले उपप्रमुख काफ्ले, सदस्य वेदकुमारी बलम्पाकी, सदस्य लक्ष्मी कुमर, वडा नं १ का तत्कालीन वडा अध्यक्ष कुमार लामाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको माग गरिएको छ। 

नदी नियन्त्रण उपभोक्ता समिति हरिपुर–१ नाखाटोल उपभोक्ता समितिका अध्यक्ष शम्शेरबहादुर बस्नेत, सचिव इन्द्रबहादुर घिसिङ र कोषाध्यक्ष निर्मलाकुमारी देवीविरुद्ध पनि ८५ लाख १८ हजार ६३१ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।