महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले लिइन् खेल जीवनबाट संन्यास

नेरी थापाको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसिपमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।

काठमाडौँ– नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापामगरले सक्रिय खेल जीवनबाट संन्यास लिएकी छन्। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। 

“नेपाली महिला क्रिकेटमा १७ वर्षको सेवा र युवा पुस्ताका क्रिकेटरलाई प्रेरणा दिनु भएकोमा कृतज्ञता व्यक्त गर्दछौँ,” क्यानले भनेको छ।

थापाको कप्तानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। सन् २००७ मा मलेसियामा आयोजित एसीसी महिला च्याम्पियनसिपमा उनले नेपाली महिला राष्ट्रिय टिमको कप्तानी गरेकी थिइन्।

थापाकै कप्तानीमा नेपालले सन् २००८ र २०१० एसीसी यू१९ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो।