सहकारीपीडितको माग सम्बोधन गर्न सरकारलाई आयोगको आग्रह

अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारलाई आग्रह गरेको छ।

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। प्रहरीले शान्तिपूर्ण प्रदर्शन गरेका पीडितमाथि अत्यधिक बल प्रयोग गरेको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मंगलबार आयोगले जारी गरेको विज्ञप्तिमा सहकारी पीडित बचतकर्ताले काठमाडौँमा चैत्र १ गते आयोजना गरेको शान्तिपूर्ण प्रदर्शनको सुन्धारामा भएको र्‍याली तथा भृकुटीमण्डपमा गरिएको कोणसभाको आयोगबाट अनुगमन भएको उल्लेख छ। चैत १ गते साँझ सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीलगायतका अन्य केही व्यक्तिहरूलाई प्रहरीले कुटपिट गरी घाइते बनाएको भनी आयोगमा उजुरीसमेत परेको थियो।

“यस सम्बन्धमा आयोगमा उजुरीसमेत दर्ता भएको छ। साथै, प्रहरीको कुटपिटबाट घाइते भएका अभियानका अध्यक्ष केसी चैत १ गतेदेखि अनशनमा रहेको र उहाँको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आयोगलाई जानकारी प्राप्त भएको छ,” विज्ञप्तिमा भनिएको छ।

शान्तिपूर्ण प्रदर्शन तथा सभा सम्मेलन गर्न पाउने नागरिकको संविधानप्रदत्त अधिकारको संरक्षण गर्न र अध्ययन समितिले गत भदौमा प्रधानमन्त्रीलाई पेस गरेको प्रतिवेदनको शीघ्र कार्यान्वयन गरी पीडित बचतकर्ताको माग सम्बोधन गर्न आग्रह गरेको आयोगका सहसचिव तथा प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

अनशनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारीपीडितको समस्या समाधान गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ।