मुस्ताङ यात्रा सहज बन्दै: कालीगण्डकी करिडोरमा ५ पुल निर्माण

लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङका अध्यक्ष टसीनर्बु गुरुङले बताए। 

म्याग्दी– गण्डकी प्रदेशको विकासको ढोका मानिएको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन्। 

बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा एक पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए। 

लोमान्थाङ गाउँपालिकाको लोमान्थाङ, किम्लिङ, नाम्डोक र भर्मा खोलाको पुल निर्माणका लागि मुक्तिनाथ–अमित जेभीले २०७६ असारमा २३ करोड ७९ लाखमा ठेक्का लिएको थियो। 

यस्तै, कालिका–गजुरमुखी जेभीले २०७६ चैतमा सात करोड ४२ लाखमा ठेक्का लिएको थासाङ गाउँपालिकाको छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो पुल पनि निर्माण सकिएको आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले जानकारी दिए। 

उनका अनुसार २० मिटर लामो लोमान्थाङ खोला मोटरेबल पुल निर्माणका लागि चार करोड ६८ लाखमा सम्झौता भएको थियो। ५० मिटर लम्बाइको किम्लिङखोला पुलको लागत छ करोड ३० लाख, ५० मिटर लामो नाम्डोकखोला पुलको लागत ६ करोड ३७ लाख र ८० मिटर लम्बाइको भर्माखोला पुलको लागत ६ करोड ८५ लाख रुपैयाँ छ।

२०७४ सालमा शुरू भएको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत १३ पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन्। म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको लेतेमा ४० मिटर, स्याङखोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको छ। 

पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिरमा ८०, पोखरेबगर र बेगखोलामा ७०–७० मिटर लामो पुल निर्माण गरेको छ। छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७.२ मिटर र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिल्ला विकास समितिले ४६ मिटरको बताएका थिए। 

यसैगरी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, बेनी–बगरफाँट जोड्ने कालीगण्डकी र अन्नपूर्ण गाउँपालिकाको भुरुङखोलामा बेलिब्रिज निर्माण भएको छ। थासाङ गाउँपालिकाको सेतोखोलामा मोटरेबल पुल निर्माण थालिएको छ। पर्वतको मालढंगाबाट म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने सडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन २०७३/७४ देखि शुरू भएको थियो। 

उक्त योजनाको ७५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख ध्रुव झाले बताए। विभिन्न ६ स्थानमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको २२ किलोमिटर सडक कालोपत्र गरिएको छ।